खेलकुद

प्रकाश दाहालको स्मृतिमा सर्वा्धिक धनराशिको भलिबल प्रतियोगिता

काठमाडौं, भदौ ११–प्रगतिशील युवा नेपालले घरेलु भलिबलमा सर्वा्धिक धनराशिको खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलन आयोजना गर्दै संस्थाले स्वर्गीय प्रकाश दाहालको स्मृतिमा राजधानीमा भदौ २४ देखि २८ सम्म ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता गराउन लागेको जानकारी दिएको थियो ।

सामाजिक कार्यसँगै खेलकुदमा पनि सक्रिय रहने उद्देश्यसहित स्थापित प्रगतिशल युवा नेपालका अध्यक्ष दीपक थापाले खेलाडीमा नया उर्जा थप्न भलिबल प्रतियोगिता आयोजना गर्न लागेको बताए । खेलकुद विकास र समृद्धिको छैठौं पूर्वाधार रहेपनि उल्लेख्य सफलता हासिल गर्न नसकिरहेको अवस्थामा नयाँ उर्जाका साथ भलिबलको विकासमा तत्परता देखाउन संस्थाले प्रतियोगिता आयोजना गरेको उनले बताए ।

नयाँ बसपार्क्स्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । यो पुरुष भलिबलमा दिन लागिएको सर्वा्धिक पुरस्कार राशी हो । यसैगरी दोस्रोे हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

साथै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछन् भने उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही १०–१० हजार रुपैयाँ दिइने संस्थाका महासचिव सुनिल थापा मगरले जानकारी दिए ।

प्रतियोगितामा तीन विभागीयसहित बढीमा १० टोलीको सहभागिता रहने प्रतियोगिताका संयोजक विकास गुरुङले बताए । एउटा टिमले बढीमा ३ विदेशी खेलाडी राख्न पाउनेछन् र तीनैजना खेलाडी एकैपटक कोर्टमा उतार्न पनि पाउनेछन् ।

प्रतियोगिताको आयोजनामा करिब ३८ लाख ५० हजार रुपैयाँ लाग्ने आयोजकले पूर्वानुमान गरेको छ । प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले गर्ने संयोजक गुरुङले बताए ।

Featured