खेलकुद विदेश

युरोकप २०२० : दुई आत्मघाती गोलका कारण जर्मनीसँग पोर्चुगल स्तब्ध

खेलको १५औँ मिनेटमा नै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रता बनाएका थिए । जर्मनीविरुद्धको खेलमा रोनाल्डोले यसअघि गोल गर्न सकेका थिएनन् । जर्मनीविरुद्ध यो उनको पहिलो गोल हो ।

पहिलो हाफमा पोर्चुगलका खेलाडीले दुई आत्मघाती गोल गरे । ३५औँ मिनेटमा पोचुर्गलका रुवेन डिअसले आफ्नै पोष्टमा गोल गरे । त्यसको ४ मिनेटपछाडि अर्थात् ३९औँ मिनेटमा राफेल गुरेरियोले पुन: आत्मघाती गोल गरे ।

निकै आक्रमक शैलीमा देखिएको जर्मनीले दोस्रो हाफमा भने सानदार दुई गोल गर्‍यो । खेलको ५१औँ मिनेटमा काई हावेर्टजले जर्मनीका लागि तेस्रो गोल गरे भने ६०औँ मिनेटमा रोविन गुसेनले जर्मीनीको अग्रतालाई ४-१ बनाए ।

खेलको ६७औँ मिनेटमा पोर्चुगलका डिगो जोटाले पोर्चुगलका लागि गोल गर्दै खेललाई ४-२ को स्थितिमा पुर्‍याए । तर, त्यसपछाडि खेलमा गोल हुन नसक्दा जर्मनी ४-२ ले विजयी भयो ।

पोर्चुगलविरुद्ध जित निकालेसँगै जर्मनीले ३ अंक जोडेको छ । यसअघि आत्मघाती गोलकै कारण जर्मनीले फ्रान्ससँग हार व्यहोरेको थियो । पोर्चुगलले यसअघि हंगेरीविरुद्ध ३-० को जित हात पारेको थियो । जसबाट पोर्चुगलले पनि ३ अंक पाएको थियो ।

समूह ‘एफ’को शीर्ष स्थानमा ४ अंकसहित फ्रान्स रहेको छ भने जर्मनी र पोर्चुगलले क्रमस: दोस्रो र तेस्रो स्थान बनाएका छन् । समूहको अर्को टिम हंगेरी १ अंकसहित समूहको पुछारमा छ ।

Featured