देश

अँटवारी पर्वमा सार्वजनिक बिदा

धनगढी, भदौ ११–सुदूरपश्चिम प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार सुदूरपश्चिमको ‘अँटवारी’ पर्व परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ८ साउनमा बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सङ्घीय सरकारले पर्वलगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधवार सूचना जारी गर्दै सार्वजनिक बिदा दिने जनाएको हो ।

सुदूरपश्चिमको ‘अँटवारी’ पर्वको अवसरमा मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आइतबार सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।

अँटवारी पर्व के हो ?
थारु समुदायमा अँटवारी पर्व परापूर्वकालदेखि मनाउँदै आइएको छ । भीमको पुजा गर्ने यो पर्वमा विशेषगरी पुरुषहरु व्रत बस्ने प्रचलन रहे पनि महिलाहरु समेत व्रत बस्ने गरेका छन् । आइतबारको दिन व्रत बस्नुपर्ने हुनाले यसको नाम ‘अँटवारी’ रहेको हो ।

थारु किंबदन्तीअनुसार द्वापर युगमा एकदिन भीम आगोमा रोटी हालेर नदीमा गंगटो मार्न गएका थिए । तर, उनी आउन ढिलो भएपछि रोटी आधा डढ्छ र अन्य चार पाण्डवले लौरोको सहायताले रोटी फर्काएर भीमलाई बोलाउन जान्छन् । फर्केर आउँदा रोटि पूर्णरुपमा डढिसकेको हुन्छ । त्यो देखेर दुःखी भएका पाण्डवहरु रोटि पनि नखाने, गँगटो पनि नखाने र त्यो दिनभर नुन पनि नखाने भन्दै व्रत बस्छन् ।

त्यसदिनयता थारु समुदायमा अँटवारी पर्व मनाउँदै व्रत बस्ने प्रचलन चलिआएको छ । केही दिन अघिबाटै चामलको पिठोबाट खरिया र बरिया बनाएर अँटवारीको तयारी सुरु हुन्छ । कृष्म जन्माष्टमीमा थारु समूदायका महिलाहरुले ‘अष्टिम्की’ पर्व मनाउने गर्छन् । भाद्र महिनामा ‘अष्टिम्की’ पछिको शुक्ल पक्षको पहिलो आइतबार अँटवारी पर्व मनाउने गरिन्छ ।

अँटवारी पर्वमा भिमका साथै अग्निको पनि पूजा गरिन्छ । दिनभरी व्रत रही साँझ पुरुषले पकाएको चोखो रोटी, दही, फलफूल आदि परिकार अग्नी देवतालाई अर्पण गरि आफ्ना विवाहित दिदीबहिनीहरुलाई सूरुमा दिएर वा भाग लगाएर तयार पारिएका सबै परिकार खाँदै यो पर्व मनाइन्छ ।