देश

ट्रायल परीक्षा पास गराइदिने भन्दै घुस लिने दुईजना पक्राउ

जनकपुर, भदौ ११–सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल परीक्षा पास गराइदिने भन्दै सर्वसाधारणसँग रकम असुल्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ११ बस्ने २५ वर्षीय जितेन्द्र यादव र महोत्तरीको महोत्तरी गाउँपालिका २ बस्ने २८ वर्षीय पंकज कुमार सिंह रहेका छन्।

जितेन्द्रले धनुषाको मिथिला नगरपालिका ६ बस्ने देवेन्द्रप्रसाद यादवसँग ५ हजार र सबैला नगरपालिका १० बस्ने अरुण कुमार पन्जियारसँग ७ हजार रुपैयाँ लिएका थिए। जितेन्द्रलाई ४० हजार नगद र विभिन्न व्यक्तिको लाइसेन्स बनाउने कागजातसहित पक्रउ गरिएको छ।

उनलाई ठगी मुद्दामा धनुषा जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए। यस्तै, १० जनाको सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै जितेन्द्रलाई रु १ लाख ५१ हजारको चेक दिने पंकज कुमार सिंहलाई पनि पक्राउ गरी अनुसन्धान शुरु गरिएको जैसबारको भनाइ रहेको छ।

Featured