देश

मकैका परिकार बेचेर मनग्य आम्दानी

तुलसीपुर, भदौ ११–प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन कार्यक्रम) लागु भएको दाङको देउखुरी क्षेत्रमा एक कृषकले मकैका विभिन्न परिकार बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । राप्ती गाउँपालिका–४ पिपरखुट्टीका गोरबहादुर कुमालले मकैको विभिन्न परिकार बेचेर आम्दानी गर्दै आएका हुन् ।

उक्त परियोजनाले मकै उत्पादनका साथै त्यसका परिकार बनाउन प्रोत्साहन गरेकाले जुनकिरी कृषक समूह पिपरखुट्टीको पहलमा आफू यस कार्यमा संलग्न हुँदै आएको उनले बताए । ‘अहिले मकैका परिकार बनाएर मनग्य आम्दानी गर्दै आएको छु,’ उनले भने, ‘ उक्त समूहले मलाई मकैका परिकार बनाउन सिकाएको हो ।’

कुमालले मकैबाट अहिले सुप, मोमो, पपकर्न, केक, हलुवा, रोटी, फ्राई चाट, उसिनेको, पोलेको, फ्राई र भुटेको मकै, आटो, ढिंडोलगायत परिकार बनाउने गरेका छन् । होटल तथा रेस्टुरेन्टमा पाइने परिकारभन्दा मकैको परिकार धेरै सस्तो र मधुमेह, ग्यास्टिक, क्यान्सरजस्ता रोगबाट बच्न पनि यस्ता परिकार उत्तम हुने उनले बताए ।

स्वास्थ्यका लागि उत्तम र स्वादिष्ट यस्ता परिकार बेचेर उनले दैनिक १ हजार रूपैयाँसम्म आम्दानी गर्दै आएका छन् । एकपटक मकैको परिकार खाएका ग्राहक पटकपटक आउने गरेको उनले बताए । ग्राहकले सबैभन्दा बढी मोमो, सुप र फ्राई मन पराउने गरेका छन् । भारतको पञ्जाबमा करिब १४ वर्ष कुकको काम गरेका कुमालले स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ मकैका परिकार बनाएर बेच्न थालेका हुन् । मकैका परिकार मात्रै बिक्री गर्ने ठूलो होटल सञ्चालन गर्ने आफ्नो सोच रहेको उनले बताए ।

Featured