देश

कोचिङ पढ्दापढ्दै बेहोस भएकी छात्राको मृत्यु, २ जनाको अवस्था गम्भीर

पाल्पा, भदौ ११-पाल्पाको रम्भा माविकी छात्रा कमला फालको स्कुलमा कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको छ। उनका अन्य आठ जना सहपाठी बेहोस् भएका छन् भने बेहोस् भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कक्षा कोठाभित्र बेहोस भएका विद्यार्थीहरुलाई उपचार गर्न सुरुमा ताहु स्वास्थ्य चौकीमा लगिएको थियो। स्वास्थ्य चौकीले थप उपचारका लागि कमलालाई लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो। तर, लुम्बिनी मेडिकल कलेजका डाक्टरहरुले १६ वर्षीय कमलाको मृत्यु भइसकेको बताएको प्रहरीले जानकारी दिएका छन्।

गम्भीर अवस्थामा रहेका एक जना छात्र र एकजना छात्राको मिसन अस्पतालमा उपचार भइरहेको छ। विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई लक्षित गरी बिहान ८ बजेदेखि १० बजेसम्म कोचिङ कक्षा चलाउँदै आएको छ। उनीहरु कोचिङ पढ्दा पढ्दै बेहोस भएका थिए।

मास हिस्टेरिया जस्तो लक्षण देखिने यस्तो समस्या पहिले विद्यालयमा नभएको जानकारी आएको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। यस बिषयमा थप अनुसन्धानका लागि प्रहरीको टोलि अस्पतालतिर गएको जानकारी प्रहरीले दिए।