देश

डडेल्धुरामा फैलिएको हैजा १५ दिनपछि नियन्त्रणमा

डडेल्धुरा, भदौ ११–डडेल्धुराको परशुराम नगरपालिका–८ मा महामारीका रूपमा फैलिएको हैजाको प्रकोप १५ दिनपछि नियन्त्रणमा आएको छ । वडामा ८९ जनामा हैजा भेटिएको र अहिले नियन्त्रण हुनुका साथै खतरामुक्त रहेको सादनी स्वास्थ्य चौकी प्रमुख आनन्दकुमार यादवले बताए ।

जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–८ का सानखोला, धादलीफाँटा र गोप्तेगाडा गरी तीन गाउँका ८९ जनामा प्रभावित भएका छन् । तर उनीहरू सबैको अवस्था खतरामुक्त रहेको स्वास्थ्य चौकी प्रमुख यादवले बताएका छन् ।

गत साउन २६ गते एक जनामा भेटिएको झाडापखलाले विस्तारै हैजाको रुप लिएपछि १५ दिनसम्म तीन गाउँका स्थानीय चिन्तित भएका थिए । ‘साउन २६ गते एक जनामा देखिएको थियो । १५ दिनपछि जनचेतनामूक कार्यक्रम गरी ८९ जना पुगेर नियन्त्रणमा आएको छ । भाद्र ८ गतेबाट एक जना पनि बिरामी आएका छैनन्,’ यादवले भने ।

अहिले यस क्षेत्रमा स्वास्थ्य निर्देशनालय राजपुर डोटी, स्वास्थ्य कार्यालय डडेल्धुरा, परशुराम स्वास्थ्य शाखा र स्थानीय स्वास्थ्य संस्थाका गरी १६ जनाभन्दा बढी स्वास्थ्यकर्मी परिचालित रहेको परशुराम नगरपालिका–८ का वडाध्यक्ष गोविन्द बोहराले बताए ।

डडेल्धुरा अस्पतालले गरेको दिसाको नमूना परीक्षणमा झाडापाखलाकै कारण हैजा भएको पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुसालले जानकारी दिए ।

८५ जना बिरामी भेटिएपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री पठानसिंह बोहराको नेतृत्वमा एक प्रदेशको स्वास्थ्यकर्मीसहितको टोली र जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको नेतृत्वमा एक टोली हैजा प्रभावित क्षेत्रमा पुगेर आवश्यक छलफलपछि थप स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।

Featured