देश राजनीति

कारबाहीमा परेका जसपाका चार मन्त्रीको सुनुवाइ नहकुल सुवेदीको इजलासमा

लुम्बिनी प्रदेशका चार मन्त्रीले दिएको रिटबारे सर्वोच्च अदालतमा आज सुनुवाइ सुरु हुँदैछ । उच्च अदालतको मुख्य न्यायाधीशबाट भर्खरै सर्वोच्चमा न्यायाधीश बनेका नहकुल सुवेदीको एकल इजलासमा सुनुवाइको पेसी तोकिएको छ ।

३१ वैशाखमा सर्वोच्चले भर्चुअल माध्यमबाट संवैधानिक प्रकृतिका विवादबारे बहस गर्ने निर्णय गरेलगत्तै पार्टी कारबाहीमा परेका जसपाका चार नेताको रिट दर्ता भएको थियो ।

लुम्बिनीमा नेकपा एमालेको सरकार जोगिने र ढल्ने प्रकरणसँग जोडिएकाले यो मुद्दालाई महत्त्वका साथ हेरिएको छ । अहिलेसम्मको संसदीय गणितअनुसार पदमुक्त सांसदको पक्षमा फैसला आएमा पोखरेलको सत्ता जोगिनेछ ।

पार्टी निर्णयविपरीत पोखरेल सरकारमा सामेल भएपछि जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले आफ्ना चार सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई पदबाट बर्खास्त गरेको थियो ।

तर,  त्यो कारबाही अवैधानिक भएको महन्थ ठाकुर–राजेन्द्र महतो खेमाले दाबी गर्दै आएको छ । यसैको छिनोफानो अब सर्वोच्च अदालतले गर्नेछ ।

Featured