देश

निषेधाज्ञामा कडाईः विराटनगरमा ‘अन द स्पोट’ कारवाही सुरु, परिचय पत्र बोकेर पास विना हिँड्नेलाई समेत धमाधम कारवाही

विराटनगर, ३ जेठ । विराटनगरमा यसपटक जारी गरिएको निषेधाज्ञामा कडाई गरिएको छ । प्रहरीले ठाउँठाउँमा चेक जाँच गर्दै कडाई गरेको हो । मोरङमा जेठ १ गते शनिबार राति १२ बजेदेखि आगामी जेठ ११ गतेसम्मका लागि थप कडाई गर्दै निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा शुक्रबार बसेको सुरक्षा बैठकले कोरोना महामारीका कारण संक्रमण र मृत्युदर बढ्दो अवस्थामा रहेको भन्दै अझ कडाईका साथ निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । सोहि निर्णय बमोजिम प्रहरीले निषेधाज्ञा उल्लंघन गर्नेलाई अन द स्पोट कारवाही गर्न सुरु गरेको छ ।

विना कारण घर वाहिर हिँड्ने र निषेधाज्ञा उल्लंघन गर्नेलाई एक सय देखि ९ हजार एक सय रुपैयाँसम्म जरिमाना र एक महिनासम्म कैद हुने जिल्ला प्रशान कार्यालयले सुचनानै जारी गरेको छ । तरपनि निषेधाज्ञा उल्लंघन गर्नेको संख्या बढ्दै गएपछि प्रहरीले धमाधम कारवाहीनै गर्न थालेको हो ।

निषेधाज्ञामा विभिन्न बहाना बनाएर र नक्कली परिचयपत्र देखाएरसमेत उल्लंघन भइरहेको पाइएको जिल्ला ट्रापिक प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगरमा निषेधाज्ञामा विभिन्न कार्यालय तथा संस्थाको परिचय पत्र देखाउँदै निषेधाज्ञा उल्लंघन भइरहेकाले संक्रमण फैलन नदिन प्रहरीले कडाई गर्दै कारवाही गर्न थालेको हो । आइतबार मात्र विराटनगरस्थित ट्राफिक चोकमा दर्जन बढी व्यक्तिहरु परिचय पत्र झुण्ड्याएर हिँडेका देखिन्थे । उनीहरुलाई कार्यालयको पत्र वा पास लिएर मात्र अत्यावश्यक कममा हिँड्नुपर्ने भन्दै ट्राफिक प्रहरीले सम्झाई रहेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी नायव निरिक्षक विनोदकुमार खड्काले प्रशासनबाट अनुमति नलिई विनाकारण बजारमा हिँड्नेलाई कारवाही थालिएको बताए ।

उनले निषेधाज्ञामा प्रहरीलाई झुक्याउन कतिपयले नक्कली परिचत्रपत्रसमेत बोकेर हिँड्ने गरेको पाइएको बताए । उनले निषेधाज्ञामा कार्यालयको परिचय पत्र देखाएर मात्र हिँड्न नपाइने र के कामका लागि हिँडेको हो त्यसको सिफारिस र विश्वस्नीय आधार विना हिँड्न नपाइने बताए ।

उनले विहान १० बजे अघि कार्यालय पुग्न र साँझ ५ बजेपछि घर जान मात्र परिचयपत्र देखाएर हिँड्न पाइने र सो परिचय पत्रले बजार घुम्न भने नपाइने जानकारी दिनुभयो ।

विराटनगरलगायत आसपासको क्षेत्रमा कोरोना संक्रमण तीब्र गतिमा फैलँदै गएको र मृत्युदरसमेत उच्च भएपछि प्रशासनले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप कडाई गर्दै निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञामा उद्योग धन्दासमेत संचालन गर्नका लागि मजदुर तथा कर्मचारीहरुलाई उद्योगमै राख्नुपर्ने प्रशासनको आदेश छ । तर, निषेधाज्ञा उल्लंघन भने पूर्णरुपमा नियन्त्रण हुन सकेको छैन ।

 

Featured