देश

स्वास्थ्यचौकीलाई १५ शय्याको प्राथमिक अस्पताल बनाउने प्रक्रिया सुरु

परासी, भदौ ११–नेपाल सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको प्राथमिक अस्पताल बनाउने प्रक्रिया सुरु गरेपछि स्थानीयवासीमा खुसीयाली छाएको छ ।

पाँच वर्ष्भित्र सबै स्थानीय तहमा कम्तीमा १५ शय्याको अस्पताल र हाललाई २५१ स्थानीय तहमा प्राथमिक तहको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल स्थापना गर्न लागिएको हो । वडा नं ८ मा रहेको उक्त स्वास्थ्यचौकीमा हाल प्राथमिक उपचार मात्रै हुने भएकाले स्थानीयवासी उपचारका लागि बुटवल, भैरहवालगायतका अस्पताल जानुपर्ने बाध्यता रहेको छ ।

सरकारले आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल निर्माण गर्ने गरी प्रक्रिया थालेपछि स्थानीयमा खुसीयाली छाएको वडाध्यक्ष नीलकण्ठ गैरेले जानकारी दिए । ‘अस्पताल स्थापना हुने भएपछि यहाँका सबै स्थानीयवासी उत्साहित छन्,’ उनले भने । पूर्व(पश्चिम राजमार्गबाट नौ किलोमिटरको दूरीमा रहेको उक्त स्वास्थ्यचौकीमा आधारभूत तहको स्वास्थ्य सेवा पनि नहुँदा यहाँका बिरामीले वर्षौंदेखि सास्ती भोग्दै आएका स्थानीयवासी कुलचन्द्र भण्डारीले बताए ।

नगरपालिकाभित्रै भए पनि भौगोलिक हिसाबले वडा नं ७ र ८ दुर्गम मानिन्छन् । विसं २०५३ मा स्थापना भएको उक्त स्वास्थ्यचौकीमा अहिले कार्यालय सहयोगीसहित सातजनाको दरबन्दी रहेको स्वास्थ्यचौकी इन्चार्ज अमृता कँडेलले बताइन्। ‘यहाँ बिरामीको चाप नै छ, दैनिक ७०(८० बिरामीले सेवा लिने गरेका छन्, स्वास्थ्यचौकीबाट हामीले ल्याबसहितको प्राथमिक तहको उपचार सेवा दिँदै आएका छौँ,’ उनले भनिन् ।

सुनवलसहित रामग्राम र देवदह नगरपालिकाका केही वडाका बासिन्दा पनि यही स्वास्थ्यचौकीको भरमा रहनुपरेको छ । यहाँ निर्माण हुनलागेको १५ शय्याको प्राथमिक अस्पतालबाट आवश्यक भौतिक पूर्वाधार, एक विशेषज्ञ चिकित्सकसहितको जनशक्ति, स्वास्थ्य उपकरणसहितको आधारभूत स्वास्थ्य सेवा प्रदान हुनेछन् । जसमा बहिरंग सेवा, ‘इन्डोर’ सेवा, प्रयोगशाला, २४सैँ घण्टा आकस्मिक सेवालगायत सेवा उपलब्ध हुने वडाध्यक्ष गैरेले जानकारी दिए । (रासस)