विदेश

इजरायल र प्यालेस्टाइनको सीमामा द्वन्द्व झन् चर्कियो, इजरायली सेना र हमासबीच आक्रमण जारी

एजेन्सी, २९ वैशाख । इजरायल र प्यालेस्टाइनको सीमामा सोमबार रातिदेखि चर्किएको द्वन्द्व झन् बढ्दै गइरहेको छ । प्यालेस्टाइनको विद्रोही संगठन हमासले इजरायलको तेल अभिभ सहरमा लक्षित गरी १३० वटा मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

गाजा पट्टीमा रहेको १३ तले भवनमा इजरायली सेनाले आक्रमण गरी ध्वस्त बनाएपछि हमासले तेल अभिभमा रकेट प्रहार गरेको बताएको छ । गाजाको उक्त भवनमा रहेका मानिसलाई भने पहिले नै सुरक्षित स्थानमा निस्कन चेतावनी दिइएको थियो । इजरायली सेनाले हमासको सैन्य अखडालाई लक्षित गरी हवाई आक्रमण गरिरहेको बताएको छ ।

सोमबार रातिदेखि हमासले इजरायलतर्फ ३ सयभन्दा बढी रकेट प्रहार गरेको छ । इजरायली प्रहरीका प्रवक्ता मिकी रोजेनफेल्डले एएफपीसँगको कुराकानीमा हमासले हानेको रकेट तेल अभिभमा खाली बसमा खसेको बताएका छन् । ५ वर्षीया बालिकासहित ३ जना घाइते भएको पनि उनले जानकारी दिए ।

बीबीसीका अनुसार अहिलेसम्म तीन जना इजरायली र २८ प्यालेस्टिनी गरी ३१ जनाको मृत्यु भएको बताइएको छ । त्यस्तै इजरायली सेनाले गाजाका १५० ठाउँमा आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई द्वन्द्व कम गर्न अनुरोध गरेका छन् । बुधबार यसै विषयमा छलफल गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठक बस्दै छ ।

Featured