देश

निषेधाज्ञामा विराटनगरका श्रमिक र ज्यालादारी कामदारलाई रोगले भन्दा भोकले मर्ने चिन्ता, यसपाली पाएनन् कसैबाट राहत

विराटनगर, २२ वैशाख । नयाँ भेरियन्टको कोरोना संक्रमण तीब्र गतिमा फैलँदै गएर मृत्युदरसमेत उच्च बन्दै गएपछि प्रदेश १ को राजधानी विराटनगरमा एक सातका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जारी गरिएपछि सवैभन्दा बढी मारमा दैनिक ज्यालादारी काम गरेर जिविकोपार्जन गर्दै आएका परिवार परेका छन् । निषेधाज्ञाका कारण सवै काम ठप्प हुदा पेट पाल्नै हम्मे–हम्मे परेको उनीहरुले बताएका छन् ।

गतवर्ष कोरोनाको हल्लासँगै देशव्यपापीरुपमा लामो समयसम्म बन्दाबन्दी भएको थियो । समुदायस्तरमा कोरोना संक्रमण हुनु अगावै निषेधाज्ञा जारी गरिएपछि दैनिक ज्यालादारी काम गरेर गुजारा गर्ने परिवारलाई स्थानीय तह, प्रदेश सरकार, नीजि क्षेत्र विभिन्न संघ संस्था, व्यक्ति सवैले राहत वितरण गरेका थिए ।

तर, यो वर्ष नयाँ प्रकृतीको कोरोना भाइरस संक्रमणले दैनिकरुपमा स्थिती भयावह बन्दै गएर निषेधाज्ञा जारी गरिएपनि दैनिक ज्यालादारी काम गरेर जिविकोपार्जन गर्ने परिवारलाई कसैले राहत वितरण नगरेको उनीहरुले बताएका छन् ।

गतवर्ष राहत वितरणमा होडबाजीनै चलेको थियो । आफुलाई अब्बल र उच्च समाजसेवी सावित गर्न राहत दिनु भन्दा पनि विपन्न, निमुखा जनतासँग सेल्फी र भिडियो खिच्नेनै बढी देखिन्थे । तर, त्यसले थोरै भएपनि पीडित परिवारलाई राहत दिएको थियो । यस वर्षभने कसैले पनि राहत वितरण नगरेको दैनिक ज्यालदारी कामदारहरुले बताएका छन् ।

‘अहिले लकडाउन भएर सवै बन्द छ । केही काम चलेको छैन । रिक्सा कुदाएर परिवार पाल्दै आएको थिएँ तर बन्द भएर मान्छेनै आउँदैनन् ।’ विराटनगरमा रिक्सा कुदाउँदै आएका एक बृद्धले भने,‘काम नभएर भोकभोकै मरिने चिन्ता छ । अहिलेसम्म कसैले राहत दिएको छैन ।’

उनी एक उदाहरण मात्र हुन् । विराटनगरमा दैनिक ज्यालदारी काम गरेर परिवारको पेट पाल्दै आएका सयौँ कामदारका परिवार यतिबेला निषेधाज्ञाका कारण भोकभोकै बस्न बाध्य छन् ।

तर, न त वडा कार्यालय र विराटनगर महानगरको यस तर्फ ध्यान गएको छ । न त प्रदेश र संघिय सरकारको । कसैले पनि दैनिक ज्यालादारी काम गर्ने परिवारका लागि उनीहरुको गुनासो छ । ‘हुनेखानेका लागि त समस्या छैन । तर, हामी भोकभोकै बसिरहनु परेको कस्ले सुन्छ र देख्छ ?’ दैनिक ज्यालादारी काम गर्ने अर्का जनाले भने,‘हामीलाई त रोगले भन्दा पनि भोकलेनै मर्ने बढी चिन्ता छ ।’

उनीहरुका अनुसार वडा, महानगरपालिका, प्रदेश र संघिय सरकार कतैबाट पनि राहत पाएका छैनन् । दैनिक संक्रमण दर अझ उच्च बन्दै गएपछि निषेधाज्ञा लम्बिने र थप समस्यामा पर्ने चिन्तासमेत उनीहरुमा छ । त्यसैले आफुहरुका लागि पनि केही सोच्न उनीहरुले सम्बन्धीत निकायलाई आग्रह गरेका छन् ।

यस अघिको महामारी नियन्त्रण भएर व्यापार व्यवसाय तथा दैनिक ज्यालादारी काम सामान्य अवस्थामा फर्कदै गर्दा केही सहज हुँदै जान थालेको भएपनि नयाँ भेरियन्टको संक्रमणका कारण निषेधाज्ञा जारी भएपछि पुनः पहिलेजस्तै समस्यामा पर्दै गएको उनीहरुको गुनासो छ ।

विराटनगरका साना व्यपारीहरुको पनि पीडा उस्तै
त्यसोत विराटनगर मुख्य बजारमा सटर भाडा लिएर व्यापार गर्दै आएका व्यपारीहरु पनि निषेधाज्ञाका कारण समस्यामा परेका छन् ।

गत वर्ष करिब ५ महिना पशल बन्द हुँदा भाडामा कुनैपनि छुट नपाएका उनीहरु यसपटक पनि लामो समयसम्म निषेधाज्ञा जारी हुँने हो भने ठुलो समस्यामा पर्ने चिन्तामा छन् ।

‘गतवर्षदेखिनै व्यापार व्यवसाय थिलथिलो बनेको छ । सरकारले लकडाउन अवधिको भाडा छुट दिन भनेपनि घरबेटीले दिएनन् । मेन बजारको सटर भाडा अत्याधिक महंगो छ । पाँच महिना पशल बन्द हुँदाको भाडा पनि हामीले बुझाउनुप¥यो ।’ विराटनगर मेन रोडमा पशल गर्दै आएका व्यपारी निर्मल अटल भन्छन्,‘कोरोना नियन्त्रणका लागि निषेधाज्ञा एकदमै राम्रो हो, गर्नुपर्छ । तर, लामो समयसम्म बन्द हुँदा हामीलाई पनि केही सहुलियत दिनुपर्छ । नत्र ऋण कर्जा गरेर चलाएको हाम्रो लगानी त्यसै डुब्छ ।’

सामान्य अवस्थामा फर्कदै गरेको व्यपार फेरी नयाँ भेरियन्टको महामारीका कारण लामोसमयसम्म निषेज्ञाधा जारी हुँदा साना व्यपारी विस्थापित हुने भएकाले भाडा छुट र ऋणमा सहुलियत दिनुपर्ने उनीहरुले माग गरेका छन् ।

 

Featured