देश राजनीति

मुख्यमन्त्री गुरुङको आरडीटी पोजिटिभ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आरडीटी विधिबाट गरिको परीक्षण्मा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको आरडीटी परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो ।

आरडीटी पोजिटिभ आएपछि पीसीआर परीक्षण गर्न उनको स्वाब मंगलबार राति नै प्रदेश क्षयरोग केन्द्र पोखरास्थित कोरोना परीक्षण प्रयोगशालामा पठाइएको छ । आरडीटी पोजिटिभ आएका अधिकांशको पीसीआर पनि पोजेटिभ आउने गरेको छ ।

‘अहिले उहाँको स्वाब परीक्षण भइरहेको छ । दिउँसो ३ बजेसम्म रिपोर्ट आउँछ,’ प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्रोतले भन्यो, ‘नजिकको मान्छेमा पनि पोजिटिभ आएको रहेछ । आरडीटी पनि पोजिटिभ आएपछि पीसीआर पनि पोजिटिभ आउने लगभग पक्का हो ।’

मुख्यमन्त्री गुरुङ कोरोना संक्रमितको क्लोज कन्ट्याकमा भए पनि बैठक तथा कार्यक्रममा सहभागी भएका थिए । उनका प्रेस संयोजक विक्रम न्यौपानेलाई ३ दिन पहिला कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा छन् ।

आफूसँग प्रायः सँगै रहने सचिवालयका कर्मचारीमा कोरोना पुष्टि भएपछि पनि उनी बैठक र भेटघाटमा निरन्तर सक्रिय रहँदा जोखिम झनै बढेको छ ।

एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री गुरुङ मंगलबार प्रदेशसभाको बैठकबारे सहमति जुटाउन बसेको सर्वदलीय बैठकमा सहभागी थिए । उक्त बैठकमा उनले मास्क समेत लगाएका थिएनन् ।

त्यहाँ बैठक सकेर साँझ ५ बजे निरीक्षणका लागि प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पताल गए । त्यहाँ उनले आफ्नो टाउको र शरीर दुखेको सुनाए । त्यसपछि चिकित्सकले परीक्षण गर्न सुझाए र आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएको हो ।

Featured