विदेश

ममता बेनर्जीको किल्ला भत्काउने मोदीको प्रयास असफल

एजेन्सी, १९ वैशाख । भारतमा एक केन्द्र प्रशासितसहित पाँच राज्यमा आज विधान सभाको मतगणना भइरहेको छ। गत मार्च र अप्रिलमा विभिन्न चरणमा चुनाव भएका केरला, तमिलनाडु, पश्चिम बंगाल, असम र पुडुचेरीमा मतगणना जारी छ।

यीमध्ये २९४ सिट भएको पश्चिम बंगालमा कस्तो चुनावी परिणाम आउँछ भन्नेमा आमचासो छ। किनकी यो प्रदेशमा दुई कार्यकाल लगातार शासन गरेकी ममता बेनर्जीलाई हटाउन केन्द्र सरकारले चलाइरहेको भारतीय जनता पार्टी (भाजपा)ले सकेजति बल लगाएको थियो। अहिलेसम्मको मत परिणामले भने ’दिदी’ उपनाम पाएकी ममताको किल्ला भत्काउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयास असफल हुने भएको छ।

अहिलेसम्मको मतपरिणाममा बेनर्जीको तृणमूल कंग्रेसका उम्मेदवारले २०६ स्थानमा अग्रता लिएका छन् भने भाजपाका उम्मेद्वार ८३ स्थानमा अघि देखिएका छन्। नन्दीग्राम निर्वाचन क्षेत्रमा मुख्यमन्त्री बेनर्जी पनि २ हजार ७ सय बढी मतले प्रतिष्पर्धी उम्मेदवारभन्दा अघि छन्।

Featured