देश राजनीति

मुख्यमन्त्री शंकर पोखरेलले यसरी तुहाइदिए अबिश्वासको प्रस्ताव : अव एमालेकै एकल सरकार

बुटवल, बैशाख १९ । लुम्बिनी प्रदेशमा नेकपा एमालेको एकल बहुमतको सरकार बन्ने भएको छ । दुई दलको बहुमतको आधारमा मुख्यमन्त्री बन्नुभएका शंकर पोखरेलले राजीनामा दिएपछि अब एमालेको एकल बहुमतको सरकार गठनको बाटो खुलेको हो ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएर मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको थियो । कांग्रेस र जसपाको साथमा पेश भएको अविश्वासको प्रस्तावमाथि आजदेखि छलफल गर्ने कार्यसूचि थियो । मुख्यमन्त्री पोखरेलले त्यसअगावै राजीनामा दिनुका साथै बिशेष अधिवेशनसमेत अन्त्यको सिफारिश गर्नुभएको छ ।

अब संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुनेछ । माओवादी केन्द्र र जसपाका गरी ६ जना सांसदको पद रिक्त भएपछि एमालेलाई एकल सरकार बनाउन सहज भएको हो । एमाले संसदीय दलले पोखरेललाई नै पुनः मुख्यमन्‍त्री बनाउने निर्णय लिइसकेको छ ।

८७ सदस्यीय प्रदेशसभामा अहिले ८१ सांसद छन् । एमाले एक्लैसंग ४१ सांसद छन् । कांग्रेसको १९, माओवादीको १७, जसपाको २ र जनमोर्चाका १ जना सांसद गर्दा जम्मा ३९ सदस्य हुन्छ । यी गठबन्धनले माधव नेपाल पक्षका दुई सांसदको साथ लिएर मुख्यमन्त्रीमाथिको अविश्वास प्रस्ताव पारित गराउने पक्षमा थिए । तर मुख्यमन्त्री पोखरेलले बिपक्षीको सवै अस्त्रलाई बिफल पार्नुभएको छ ।

Featured