देश

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : असारसम्ममा ३ लाखलाई कोरोना संक्रमण, १५ हजारलाई आईसीयू चाहिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असारसम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ । मन्त्रालयले कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखापरेकाले अवको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो । बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट सम्बन्धमा भएको छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो तथ्यांक प्रस्तुत गरेका हुन् । उनका अनुसार ३ लाख संक्रमितमध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार बिरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आईसीयु) आवश्यक पर्ने अनुमान छ । सोहीअनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताए  ।

‘हामीले कोभिडका लागि गरेको ६ सय ४९ आधारभूत अस्पतालमा बेडहरू चलाएका छौँ । केही जिल्ला अस्पताललाई स्तरोन्नति गरेका छौँ, केही संघीय अस्पतालमा बेड थप्ने काम गरेका छौँ । यो बीचमा हामी करिब ५ सय जति आईसीयू बेड थप्यौँ, करिब ४ सय जति भेन्टिलेटर थप गर्न सक्याछौँ र त्योभन्दा पनि महत्वपूर्ण यो अवधिमा हामीले २ हजार बेड हाई डिपेन्डेन्सी युनिटमा थपेका छौँ’ उनले भने ।

सचिव अर्यालले पछिल्लो केही दिन काठमाडौंका अस्पतालमा आएका कोरोना संक्रमित बिरामीको स्थिति छिटो क्रिटिकल अवस्थामा पुग्ने देखिएको बताए । ‘पछिल्लो हामीले दुई तीनवटा हस्पिटलको टेकु हस्पिटल, पाटन हस्पिटललाई हेर्दाखेरी बिरामी असाध्यै सिकिस्त भएपछि अस्पताल आउने, पहिलो दिनमा उहाँहरू जनरल बेडमा हुनुहुन्छ, दोस्रो दिनमा अक्सिजनमा जानुहुन्छ, तेस्रोमा आईसीयुमा, चौथोमा भेन्टिलेटर त्यसपछि एक दुई दिनभित्र बिरामी मरिरहेको अवस्था देखिन्छ । यति छिटो संक्रमण बढिराखेको छ’ उनले भने ।

गत वर्ष देखिएको भेरियन्टमा एक जना संक्रमितले अरु चार पाँच जनामा सार्न सक्ने भए पनि अहिलेको भेरियन्टमा एक जनाले ४० देखि ७० जनासम्मलाई सार्न सक्ने देखिएको छ  । जुन भेरियन्ट युके भेरियन्ट नै रहेको पुष्टि भइसकेको पनि सचिव अर्यालले बताए ।

मन्त्रालयले चालु आर्थिक वर्षमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि करिब ८ अर्ब रुपैयाँ खर्च गरेको छ । जसमा पीसीआर कीट, एक्स्ट्राक्सन कीट, भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम), एन्टीजेन कीट, मास्क, गाउन, सर्जिकल पञ्जा, अक्सिजन प्रणाली सुदृढीकरण, आईसीयू, एचडीयू, तथा अन्य औषधि उपकरणको व्यवस्थापन, स्वास्थ्यकर्मीको जोखिम भत्ता, निःशुल्क परीक्षण तथा उपचार, खोप खरिद तथा अभियान सञ्चालन लगायतका कोभिड–१९ रोकथाम तथा नियन्त्रण लगायतका क्रियाकलापको लागि ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।

त्यस्तै, खोप कार्यक्रम र एचडीयुको लागि २ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । चालु वर्षमा मन्त्रालयलाई ५८ अर्ब ९८ करोड ४१ लख ७२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म २७.५४ प्रतिशत अर्थात १६ अर्ब २४ करोड, ५१ लख ८८ हजार रुपैयाँ मात्रै खर्च भएको छ । आगामी आर्थिक वर्षका लागि ६२ अर्बको सिलिङ प्राप्त भएअनुसार कार्यक्रम तयार गरिएको सचिव अर्यालले बताए ।

यस्तै, कोभिड व्यवस्थापनबाहेक थप २९ अर्ब ८० करोड रुपैयाँ बजेट आवश्यक पर्ने पनि उनले बताए । उनले भने, ‘कोभिडको व्यवस्थापनबाहेक हामीलाई थप २९ अर्ब ८० करोड रुपैयाँ चाहिन्छ भनेको हो । सिलिङमा चाहिँ ६२ अर्बको सिलिङ हामीलाई दिनुभएको छ भने हामीकोमा आउट आफ सिलिङ २९ अर्ब ८० करोड चाहिन्छ भनेको हो । कोभिडको पहिलो चरणमा १४ अर्ब खोपसहित साउनसम्म खोप किन्न सकिन्छ कि भन्ने हिसाबले बढी राखेको हो र असोज सम्मको कोभिडको संक्रमण रेट अफ ट्रान्समिसनको आधारमा प्रोजेक्सन गर्नुपर्ने हुन्छ ।’

सचिव अर्यालले कुल जनसंख्याको ७२ प्रतिशतमा कोभिड–१९ विरुद्धको खोप लागाउने योजना बनाएको पनि बताए । त्यसअनुसार २ करोड १५ लाख मानिसलाई खोप लगाउँदा ४ करोड ३० लाख र खेर जाने दरसहित करिब ५ करोड खोप आवश्यक पर्ने उनले बताए । सबै खोप खरिदका लागि करिब ४८ अर्ब लगानी गर्नुपर्ने देखिएको उनले बताए । यस्तै, देशभर रहेको १४ हजार खोप केन्द्रबाट दैनिक ६ लाख मानिसलाई खोप लगाउन सक्ने क्षमता रहेको पनि सचिव अर्यालले बताए ।

Featured