देश

धर्म र सेवाको नाममा खुलेको विराटनगरको अतिथि सदन नाफामुखी बन्दै गएको आरोप

विराटनगर, ९ वैशाख । विराटनगरको मेन रोडस्थित अतिथीसदन पछिल्लो समय विवादित बनेको छ । धर्म र समाजसेवाका नामा स्थापना गरिएको संस्थालाई व्यवसायीकरण र नाफामुखी बनाउन खोजिएको भन्दै विवादित बनेको हो । अतिथी सदनलाई पछिल्लो समय पुननिर्माण गरि सुविधासम्पन्न बनाइदै लगेको भनिएपनि त्यसैका नाममा विराटनगर मेनरोडका स्थानीय र अतिथी सदनको स्थापनाकादेखिनै व्यवसाय गर्दै आएका व्यपारीहरुले भने व्यवसायीकरण गर्न खोजेको आरोप लगाएका छन् ।

नेपालको प्रतिष्ठीत औधोगिक घराना गोल्छा परिवारका दिनेश गोल्छा अतिथि सदनको नेतृत्वमा आएपछि पहिलो पटक संस्थानै विवादित बनेको हो । गोल्छाको नेतृत्वमा पुननिर्माणलगायतका राम्रा काम भएपनि पछिल्लो समय प्रयाप्त नाफा कामाउने उदेश्यले खोलीएका होटल पार्टी प्यालेसहरु जस्तै अतिथी सदनलाई पनि नाफामुखि बनाउन खोजिएको भन्दै स्थानीय र व्यपारीहरुले असन्तुष्टि जनाएका छन् ।

उद्योग संगठन मोरङका पूर्व अध्यक्षसमेत रहेका अतिथी सदनका अध्यक्ष गोल्छा नेतृत्वको समितिले विवादास्पद निर्णय गरेपछि संस्थानै विवादित बन्दै गएको स्रोतले जनाएको छ । अतिथीसदन पाँच दशकको इतिहासमा यस्तो विवादित नबनेपनि गोल्छा नेतृत्वको समितिका पछिल्लो निर्णयका कारण विवादित बनेको स्थानीय व्यवारीहरुको गुनासो छ ।

समाजसेवाको उद्देश्यले स्थापित अतिथी सदनले स्थापना कालदेखिनै संस्थालाई चलायमान बनाउन र संस्थाको दिर्घकालिन आम्दानीका आफ्नै भवनमा रहेको मेनरोड पट्टीका सटरहरु व्यपारीहरुलाई भाडामा लगाएको थियो । ती सटरहरुमा स्थापनाकालदेखिनै अर्थात ५० वर्षदेखि व्यापार गर्दै आएका व्यापारिहरुलाई गोल्छा नेतृत्वको समितिले अहिले हटाउने षड्यन्त्र गरिरहेको स्रोतले जनाएको छ ।

स्थापना कालदेखिनै संस्थाको आम्दानीका लागि अतिथी सदनले व्यपारिहरुलाई व्यापारिक प्रायोजनका लागि कोठा भाडा लगाएको थियो । वर्षेनी निश्चीत प्रतिशत भाडा बृद्धि गर्दै लगिने शर्तमा भाडा लगाइएको भएपनि ति व्यपारीहरुलाई विस्थापित गर्नेगरि हाल आएर गोल्छा नेतृत्वको समितिले अतिथी सदनको इतिहासमै सवैभन्दा धेरै भाडा बृद्धि गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

अतिथी सदनका पदाधिकारीहरुले ५ दशकदेखि व्यपार गर्दै आएका व्यपारीहरुलाई सो ठाउँबाट हटाउने नियत राखेर नियम कानुन विपरित वैशाख महिनादेखिनै लागुहुने गरि अत्याधिक भाडा बृद्धि गरेको जानकारी आफुहरुलाई अनौपचारिकरुपमा दिएको एक व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

ति व्यपारीहरुका अनुसार अतिथी सदनका पदाधिकारीहरुले शतप्रतिशत भाडाबृद्धि गरेका हुन् । जसका कारण व्यपारीहरुले अब हाल तिर्दै आएको भाडाको दुई गुणा भाडा अतिथी सदनलाई बझाउनुपर्ने छ ।

कोठाको साइज अनुसार हाल व्यपारीले ९४ रुपैयाँ स्क्वायर फिटका दरले भाडा तिर्दै आएका छन् । अर्थात एउटा कोठाको १५ हजार देखि ३० हजार रुपैयाँ भाडा तिर्दै आएकोमा अबदेखि न्युनतम ३० हजारदेखि ६० हजाररुपैयाँ तिर्नुपर्ने एक व्यपारीले हाम्रो विराटनगरलाई बताए ।

विशुद्ध सामाजिक संस्था अतिथी सदनका पदाधिकारीहरुले दोब्बर भाडा बृद्धि गर्ने निर्णय गरेपछि आफुहरु पलायन हुने अवस्थामा पुगेको एक व्यपारीले गुनासो गरे । ‘हाम्रो बुवा बाजेको पालादेखि यहाँ व्यापार गरिरहेका छौँ । कोरोना महामारिका बेला यत्रो ठुलो सामाजिक संस्थाले अझ सहुलियत दिनुपर्नेमा शतप्रतिशत भाडा बृद्धि गरेको छ ।’ ति व्यपारिले भने,‘नियम कानुन भन्दा बाहिर गएर शतप्रतिशत भाडा बृद्धि गरेपछि हामी पलायन हुने अवस्थामा पुगेको छौँ । स्थापना कालदेखिनै यहि ठाउँमान दुख गरेर व्यापार गर्दै आएका हामी यो ठाउँ छोडेर कहाँ जाने ? सम्बन्धीत निकायले तत्काल यो निर्णय सच्याउनुपर्छ ।’

स्थापनाकालदेखिनै अतिथि सदनले आधा दर्जन सटरहरु भाडामा लगाउँदै आएको छ । स्थापना कालमा एउटा सटरको भाडा मासिक तीन सय रुपैयाँ कायम गरिएको थियोे । तर, ५ दशकपछि अहिले ति सटरहरुको भाडा तिर्नै गनसक्ने गरि ६० हजाररुपैयाँ भन्दा बढी पुगेको अका एक व्यपारीले बताए । ‘कानुनी र व्यवहारीकतालाई समेत ध्यान नदिएर तिर्नैै नसक्ने गरि भाडा बृद्धि गरिएको छ । अब बसौँ भने भाडा तिर्नै नसक्ने अवस्था छ । नबसौँ भने सवै लगानी डुब्ने चिन्ता छ ।’ उनले भने,‘कानुन विपरित र अव्यवहारिकरुपमा भाडा बृद्धि गर्नुको मकसद ठुलो आर्थिक चलखेर गरि हामीलाई हटाएर यहाँ आफ्ना नजिकका मान्छे राख्ने वा होटल, रेष्टुराँहरु चलाउने षड्यन्त्र रच्न खोजिएको छ ।’

व्यपारीहरुका अनुसार धर्म र सेवाको नाममा स्थापना गरिएको अतिथी सदनलाई केही पदाधिकारीहरुले व्यापारको रुपमा अघि बढाउन खोजेका छन् ।

अतिथी सदनले घरबहाल कर पनि स्वयं व्यपारीलाई तिराउँछ
दिनेश गोल्छा नेतृत्वको कार्यसमिति निर्वाचित भएर आएदेखि महानगरपालिकाको नियम विपरित १० प्रतिशत बहाल कर पनि पशलेहरुलाईनै तिर्न लगाउन बाध्य पारेको खुलासा समेत भएको छ । घर बहाल कर स्वयं घरधनीले तिर्नुपर्ने कानुनी प्रावधान छ । अर्थात घर भाडा वापतको घर बहाल कर स्वयं अतिथी सदनले तिर्नुपर्ने हो तर, भाडामा बसेका व्यपारीहरुलाईनै भाडाका अतिरिक्त १० प्रतिशत बहाल कर समेत तिर्न बाध्य पार्दै आएको एक व्यपारीले बताए ।

तर, विराटनगरका नाम चलेका प्रतिष्ठत उद्योगी तथा व्यवापारीहरु रहेको अतिथी सदनको समितिले भाडाका अतिरिक्त १० प्रतिशत बहाल कर भाडामा बस्दै आएका व्यवारीहरुलाईनै तिर्न लगाउँदै आएको हो ।

शतप्रतिशत भाडा बढाउने निर्णय
स्रोतका अनुसार अतिथी सदनका अध्यक्ष उद्योगी गोल्छासहितका पदाधिकारीहरुले व्यापारिक प्रयोजनका लागि भाडामा लगाइएका सटरको शतप्रतिशत भाडा बृद्धि गर्ने निर्णय गरेका छन् । सदनका पदाधिकारीहरुले समितिको बैठकमा बृद्धि गरिएको शतप्रतिशत भाडा बृद्धि फिर्ता लिनुपर्ने माग गरेपनि अध्यक्ष गोल्छा समुहले बहुमतको आधारमा भाडादर बढाउने निर्णय अनुमोदन गरेको छ ।

यस अघिका कार्यसमितिले व्यपारीहरुलाई पर्ने पीरकर्मालाई ध्यानमा राखेर राय सुझाव लिएर मात्र केही प्रतिशत भाडादर बृद्धि गर्ने निर्णय गर्दै आएको थियो । तर, यसपटक व्यपारिलाई विस्थापित हुनेगरि अध्यक्ष गोल्छा र संजय दुगडले गलत नियत राखेर ढाड सेक्नेगरि भाडा बृद्धि गरेको व्यपारिहरुको गुनासो छ ।

त्यसो त अतिथि सदनले शौचालय प्रयोग गरेवापतको रकम पनि छुट्टै अशुल गर्दै आएको छ । घरभाडा, बहाल कर मात्र नभई दिनमा जतिपटक शौचालय प्रगोग हुन्छ त्यति पटकनै व्यपारीहरुसँग पैसा लिने गरेको उनीहरुको गुनासो छ । यसरी रकम अशुलेर गोल्छा नेतृत्वको अतिथि सदनले सेवा र धर्मको नामा खोलिएको संस्थालाई व्यवसायीकरण र नाफामुखि बनाउन खोजेको व्यपारिहरुले आरोप लगाएका छन् ।

सरकारले घाषणा गरेको छुट समेत दिएन
सरकारले गत वर्ष कोरोना महामारिका कारण व्यपार व्यवासय धारासायी भएको भएको भन्दै घर भाडा छुट दिन निर्देशन दिएको थियो । तरपनि अतिथि सदनले कुनै छुट नदिएको व्यपारिहरुले बताएका छन् । करिब ८ महिना पशल व्यवासय बन्द हुँदा पनि सरकारले दिएको निर्देशनसमेत पालना नगरि बन्द अवधिको सवै भाडा आफुहरुबाट अशुल गरेको एक व्यपारिले बताए ।

अध्यक्ष गोल्छा भन्छनः शतप्रतिशत भाडा बढाइएको भन्नु अफवाह मात्र
यता अतिथि सदनका अध्यक्ष दिनेश गोल्छाले स्क्वायर फुटका आधारमा प्रत्येक पदशको भाडा फरक फरक रहेको बताए । उनले शत प्रतिशत भाडा बृद्धि नगरिएको दावी गरे । ‘शत प्रतिशत भाडा बृद्धि भएको छैन । यो गलत अफवाह मात्र हो ।’ उनले भने ।

यस्तो छ अतिथि सदनको इतिहास
५० वर्ष अघि विराटनगरमा वैवाहिक कार्यक्रम गर्नु प¥यो भने र कुनै सामाजिक कार्यक्रम गर्न कुनै ठाउँ थिएन । विहे तथा धर्म संस्कारलगायतका कार्यक्रम गर्नु पर्दा आवश्यक सामग्रीहरू घर–घरमा गएर जुटाउनु पर्ने समस्या भोग्नु परेका कारण त्यति बेलाका दूर दृष्टि भएका समाजका अगुवा व्यापारीहरूको प्रयासले अतिथिसदनको निर्माण भएको थियो ।

२०१५ सालमा एउटा सुविधायुक्त सामुदायिक भवनको परिकल्पना गरी २०१६ सालमा बीच बजारमै १६ कठ्ठा ३ धुर जग्गा खरिद गरिएको थियो । अतिथि सदनको भवनको वि.सं २०२४ साल वैशाख २९ गते कालुराम अग्रवालले शिलान्यास गरेका थिए ।

भवनको उद्घाटन २०२७ सालमा लत्कालीन राजा महेन्द्रले गरेका थिए । त्यति बेलाको विराटनगरको मारवाडी समुदायका अगुवाहरू रामलाल गोल्छा, रामाकिशन राठी, जगन्नथ राय डेडराज तोदी, चाँदमल लुनकरण दुगड, सीताराम सत्यनारायण धनावत, विश्वनाथ प्रयागचन्द अग्रवाल, शिवदत्त राय जगन्नथ चैनवाला आदिको प्रयासबाट अतिथि सदनको निर्माण भएको हो । अतिथि सदनमा सहयोग पुर्याउने २ सय ८४ जनाको सूची छ ।

अतिथि सदनको परिकल्पनाकार, निर्माता, चन्दादाता हाल कोही जीवित नरहेको जनाएको छ । तर सदस्यताको वर्गिकरण अनुसार उनीहरूका सन्तानले अतिथि सदनको व्यवस्थान तथा सञ्चालनको प्रतिनिधित्व गर्दै आइरहेका छन् ।

Featured