देश

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय, यी हुन् विद्यालय बन्द हुने क्षेत्र

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार मन्त्रिपरिषदले उक्त निर्णय लिएको हो । शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले पारित गरेको कोभिड- १९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालयमा भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ । सरोकारवालाहरूले भने विद्यालय बन्द गर्न नहुने बताउँदै आएका थिए ।

त्यस्तै आजको मन्त्रिपरिषद्ले रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशालालगायत भीडभाड हुने क्षेत्रहरू समेत वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

तर, रंगशालामा भने दर्शकबिना खेल गतिविधि सञ्चालन गर्न पाइने छ । स्वास्थ्य मन्त्रालयले वर्गीकरण गरी कोरोनाको अति प्रभावित जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई राखेको छ । स्वास्थ्य मन्त्रालयको उक्त निर्णयका आधारमा सीसीएमसीले विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

जसअनुसार काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, वीरगञ्ज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरलगायत शहरी क्षेत्रका विद्यालय बन्द हुने भएका हुन् ।

Featured