देश

विराटनगरका विद्यालय आजदेखि बन्द

विराटनगर, ६ वैशाख । विराटनगर महानगरपालिकाले महानगरक्षेत्रका विद्यालय एक साता बन्द गरेको छ । परीक्षाको पूर्व तयारीका लागि विराटनगरका विद्यालयहरूमा सोमबारदेखि एक हप्ता विदा दिइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको अति प्रभावित जिल्लामा मोरङलाई घोषणा गरेपछि विराटनगर महानगरपालिका अन्तर्गतको नगर शिक्षा समितिको बैठकले महानगरभित्रका सवै विद्यालयमा बैशाख ६ गतेदेखि १२ गतेसम्म एक हप्ताका लागि परीक्षाको पूर्व तयारी विदा दिने निर्णय गरेको थियो ।

त्यस्तै एक हप्तामा पछि कोरोना महामारीको प्रभाव हेर्दै आलोपालो गर्दै परिक्षासमेत सञ्चालन गराउन लगाउने शिक्षा समितिले निर्णय गरेको थियो । कोरोना महामारीको ‘चेक ब्रेक’ गर्न पनि एक हप्ताको लागि परीक्षा तयारी विदा दिने निर्णय गरिएको नगर शिक्षा समितिका सदस्य सचिव सचिव दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । उनले १३ गतेदेखि विद्यालयका वार्षिक परिक्षाहरु आलोपालो गरेर सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइएको जानकारी दिए ।

उनका अनुसार महानगरले सम्पूर्ण विद्यालयहरुलाई १३ वैशाखदेखि मसान्तभित्रमा शैक्षिक सत्र २०७७ को वार्षिक परिक्षा समेत आलोपालो गरि गर्न निर्देशन दिएको हो ।

‘१३ गतेपछि मापदण्ड पालना गर्दै आलोपालो पद्धति अपनाएर विद्यालयका वार्षिक परिक्षा सञ्चालन गर्ने भन्ने निर्णय भएको छ ।’ उनले भने,‘परिक्षा सकिएपछि जेठको २ गतेभित्र विद्यालयले नतिजा प्रकान गर्छ । त्यसपछि केही समय कोरोनाको अवस्था हेरेर विदा दिनुपर्नेमा विदा हुन्छ ।’

Featured