देश

सुनसरीको बर्जुमा भएको डकैतीमा बुहारीको संलग्नता, पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्बजनिक ग¥यो

विराटनगर, ५ वैशाख । सुनसरीको बर्जु गाउँपालिकामा फागुन ६ गते भएको डकैतीको घटनामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय दुहवीले पत्रकार सम्मेलनको आयोजना गरी डकैतीमा संलग्नहरु सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सुभास चौधरीको घरमा भएको डकैतीको घटनामा उनकै बुहारी सृजना चौधरीको संलग्नता खुलेको छ ।

प्रहरीले घटनामा संलग्नताको आधारमा सृजना सहित पक्राउ परेका इटहरी १३ खनारका नमाजुद्दिन आलम, दुहवी ६ का मर्तुजा मिया, मोरङको बुढीगंगाका अजिम मिया र बर्जुका सर्वन उरावलाई सार्वजनिक गरेको छ । प्रहरीले घटनामा संलग्न थप एक जनाको भने खोजी भैरहेको जनाएको छ । प्रहरीले घटनाको मूख्य योजनाकार नाताले बुहारी पर्ने सृजना चौधरी रहेको निश्कर्ष निकालेको छ ।

सृजनाले श्रीमानको पैतृक सम्पत्ती वापतको अंश बेचेर प्राप्त ३० लाख रकम काका ससुराले आफ्नै घरमा राखेको रिसिवी साँध्न सो रकम लुट्ने मनसायले सुनियोजित रुपमा डकैतीको घटना गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक कमल थापाले जानकारी दिए।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार डकैतीको क्रममा हतियार सहितको समूहले सुभास सहित परिवारका सदस्यलाई कुटपिट गरी ५४ हजार लुटेको थियो ।

सृजनाले जेलमा रहेका भाईलाई भेट्न जाने क्रममा चोरी मुद्धामा जेलमा सजाय काटी रहेका मर्तुजा मिया र अजिम मियासँग चिनजान गरेकी थिइन् । चिनजान गरिएका व्यक्तिहरु छुटेपछि उनीहरुकै सहयोगमा काका ससुराको घरमा डकैती गराइएको अनुसन्धानमा खुलेको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार डकैतीको क्रममा सो समूहले भारतको बिरपुरबाट किनेर ल्याएको एक थान गोली सहितको पेस्तोल समेत प्रयोग गरेको खुलेको छ । प्रहरीले घटनास्थलमा मिस फायर भएको अवस्थामा फेला परेको गोलीका आधारमा अनुसन्धान निचोडमा पुगेको जनाएको छ ।

Featured