देश शिक्षा

शतप्रतिशत दलित विद्यार्थी अध्ययनरत धनपालथानको किसान आधारभुत विद्यालयको भवन निर्माण हुने

विराटनगर, ५ वैशाख । मोरङको धनपालथान गाँउपालिका–५ स्थित किसान आधारभुत विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ । शतप्रतिशत दलित विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा निर्माण हुन लागेको भवनको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल र धनपालथान–५ का वडाध्यक्ष गयानन्द सरदारले शिलान्यास गरे ।

जिल्ला समन्वय समिति मोरङ, धनपालथान गाउँपालिका र वडानम्बर ५ को संयुक्त लगानीमा विद्यालय परिसरमा ४४ लाखको लागतमा तीनकोठे पक्की भवन निर्माण गर्न लागिएको धनपालथान ५ का वडाध्यक्ष सरदारले जानकारी दिए ।

भवन निर्माणकालागि जिल्ला समन्वय समिति मोरङले ४० लाख, धनपालथान गाउँपालिकाले १० लाख र सम्बन्धित वडा कार्यालयले १५ लाख गरि ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यद्यपि निर्माणको ठेक्का पाएको एशियन हाइटेक कन्सट्रक्सन प्रालि हात्तीमुडाले बिलो रकम ४४ लाखमा ठेक्का स्वीकार गरेको छ । शिलान्यास गरिएको भवन आउदो असार महिनासम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने ठेक्का सम्झौता छ ।

२०३५ सालमा स्थापना भएको उक्त विद्यालयमा ३ सय २५ जना दलित छात्रछात्र अध्ययनरत छन । कक्षा ८ सम्म मात्र अध्यापन भइरहेको विद्यालयमा थप भौतिक संरचनाहरु निर्माण गरेर कक्षा १० सम्म स्तरोन्नती गरिने योजना रहेको जनाइएको छ ।

Featured