देश राजनीति

सरकारलाई मानवअधिकार आयोगले भन्यो- ‘कोरोना जोखिम रहेका बालबालिकाको स्वास्थ्य अधिकारमा खेलाँची नगर्नू’

राष्ट्रिय मानवअधिकार आयोगले कोरोना महामारीबाट बालबालिका उच्च जोखिममा रहेको भन्दै बालस्वास्थ्यप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार विज्ञप्ति जारी गरी आयोगले भनेको छ, ‘गतवर्षदेखि विश्वलाई आक्रान्त पारिरहेको कोभिड-१९ को नयाँ स्वरूप नेपालमा समेत तीव्र रूपमा फैलिँदै गइरहेको र यसबाट बालबालिकाहरू बढी जोखिममा रहेको अवस्थाप्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । बालबालिकाको स्वास्थ्य अधिकारमा गम्भीर हुन आयोग सरकारसँगै सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँछ ।’

आयोगले निजी तथा सरकारी विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना नभएको भन्दै जनस्वास्थ्य मापदण्‍ड पालना नहुँदा बालबालिकाहरूको स्वास्थ्य अधिकार जोखिममा परेको बताएको छ ।

‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च जोखिममा रहेका काठमाडौं उपत्यकासहितका १४ जिल्लामा शिक्षण संस्थालगायत बढी भीडभाड हुने क्षेत्र तथा सेवाहरू तत्कालका लागि बन्द गर्न सुझाव दिएको अवस्थामा शिक्षण संस्थाहरू हाल सञ्‍चालनमै रहेको एवं स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालना नहुँदा बालबालिकाहरूको स्वास्थ्यको अधिकार जोखिममा परेको देखिन्छ,’ आयोगले भनेको छ ।

गत दुई हप्तामा ३ सयभन्दा बढी बालबालिका कोरोनाबाट संक्रमित भएको जानकारी पाएको भन्दै आयोगले बालबालिकाको  स्वास्थ्यमा गम्भीर हुन भनेको छ ।

कोरोना संक्रमण बढ्दै गएको अवस्‍थामा विद्यालय बन्द गर्ने निर्णयमा निजी विद्यालयका छाता संगठन प्याब्सन र एन प्याब्सनले संस्थागत विरोध गर्दै आएका छन् । सरकाले पनि विद्यालय बन्दको सिफारिसलाई कार्यान्वयनमा ल्याउने निर्णय नगरेको अवस्थामा आयोगले बालबालिकाको स्वास्थ्यमा खेलाँची नगर्न भनेको हो ।

मन्त्रालयबाटै विरोधाभास सूचना सम्प्रेषण भइरहेको भन्दै आयोगले बालबालिकाहरूको जीवन रक्षा गर्दै शिक्षाप्राप्तिको अधिकारसमेत सुनिश्चित गर्न भनेको छ । आयोगले पठनपाठनमा वैकल्पिक विधिको प्रयोग गर्न सुझाएको छ ।

संविधानको धारा ३९ ले बालबालिकाको हकको व्यवस्था गरेको र बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९८९ को नेपाल पक्ष राष्ट्र भएकाले त्यसको धारा २४ अनुसार बालबालिकाको उच्चतम स्वास्थ्यको हितलाई ध्यान दिनुपर्ने आयोगको भनाइ छ ।

Featured