खेलकुद देश

त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्यान्ड्सविरुद्ध नेपाल ९ विकेटले विजयी

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सलाई नेपालले ९ विकेट पराजित गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेदरल्यान्ड्सले दिएको १३६ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट ब्याटिङ गरे । दुवैले घरेलु मैदानमा अर्धशतक पूरा गरे । नेपालका लागि कुशलले ४६ बलमा ५ छक्का, ५ चौका प्रहार गर्दै ६२ रन बनाए ।

आसिफले ३८ बलमा ४ चौका र ४ घक्का प्रहार गर्दै ५४ रन जोडे । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले नटआउट १३ रनको योगदान दिए । बलिङमा नेदरल्यान्ड्सका जुलियनडे मेले १ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि बासडी लीडेले ४१, स्कट इड्रवासले ३०, म्याक्स ओदाउदले १०, कप्तान पीटार सीलारले नटआउट २२ र एनोनियस स्टालले अविजित २० रन बनाए ।  बलिङमा सन्दीप लामिछानेले चार ओभरमा २२ रन दिएर २ विकेट लिए । त्यस्तै, साहब आलम र सोमपाल कामीले १/१ विकेट लिए ।

Featured