खेलकुद देश

विराट गोल्डकप : सिजनकाे तेस्राे उपाधिमा एपीएफकाे नजर, पञ्जावका काेच भन्छन्, ‘रित्ताेहात फिर्दैनाैँ’

विराटनगर, ४ वैशाख-विराटनगरमा जारी छैठौँ संस्करणको विराट गोल्डकप फुटबलको फाइनल खेल आज हुँदैछ । शहीद रंगशालामा हुने उपाधि भिडन्तमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) र भारतको पञ्जाव पुलिस आमनेसामने हुँदैछन् । साँझ ६ बजेदेखि सुरु हुने खेलमा टोलीपञ्जाव पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने दाउमा हुने छ । एपीएफचाहिँ यो सिजनकाे तेस्रो उपाधिमा आँखा लाइरहेकाे छ ।

विभागीय चिरप्रतिद्वन्दी नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई जितेर एपीएफले पञ्जावसँगकाे भेट पक्का गरेकाे हाे ।  एपीएफले क्वाटरफाइलमा प्रहरीलाई २–० ले र सेमिफाइनलमा विराटनगरलाई ३–२ हराएकाे थियाे ।

यस्तै विराट गोल्डकपमा पहिलो पटक भाग लिएको पञ्जावले शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रलाई २–०, गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४–२ र आहा रारा गोल्डकपको च्याम्पियन तथा विराट गोल्डकपको साविक विजेता टिम संकटा क्बललाई १–० हराएर फाइनलमा स्थान बनाएकाे हाे ।

एपीएफ २०७० सालमा विराट गोल्डकपको फाइनलमा पुगेको थियो । त्यसबेला संकटासँग १–० ले हारेर उसले उपाधि चुकाएकाे थियाे । एपीएफ यो सिजनमा तेस्राे उपाधि हात पार्ने लक्ष्यमा छ । यसअघि महिना दिनअघि उसले चौथो गोलबजार गोल्डकपको उपाधि जितेको थियाे । उपाधि हात पार्न एपीएफले फाइलनमा आयोजक टिमलाई ४–० गोल हानेकाे थियाे ।

यही सिजनकाे जनकपुर गोल्डकप एपीएफकै नाममा छ । फाइनलमा विभागीय टिम नेपाल आर्मीलाई २–१ गोलले हराउँदै एपीएफले जनकपुर गोल्डकपको उपाधि जितेको थियाे ।  एपीएफका प्रशिक्षक सुदिप श्रेष्ठले विराट गोल्डकपमा योसँगै दोस्रो पटक फाइनल पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए ।

उनले फाइनलमा ४–१, ४–१ को रणनीतिमा मैदानमा उत्रिने बताए । एपीएफका कप्तान सुदीप सिख्राकारले घरेलु दर्शकको साथ र हौसलामा उपाधि जित्ने दाबी गरे ।

नेपालमा पहिलो गोल्डकप खेल्न आएको पञ्जाव विराट गोल्डकपको फाइनलमा पुगेको हो । पञ्जावका प्रशिक्षक हरनेक सिंहले फाइनलअघि आफ्ना खेलाडीकाे प्रदर्शन जस्ताे थियाे, त्यसैअनुसार फाइनलमा खेल्ने बताए ।

नेपालकाे प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए । ‘हामीलाई थाहा छ, यहाँकाे यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ’, उनले भने, ‘आहा रारा गोल्डकपको च्यम्पियन टिमलाई जितेको हुनाले फाइनलमा हामी ढुक्क छौँ ।’

उनका अनुसार पञ्जावले ४–४–२ को रणनीतिमा खेल्ने छ । ‘सेमिफाइनलमा कप्तान जगदीप सिंहले पाएको रातो कार्डमा पुनर्विचार गर्न आयोजकलाई आग्रह गरेको छौँ’, उनले भने, ‘हाम्रा खेलाडीले कुनै गल्ती गरेका छैनन्, भिडियो फुटेज हेरेर आयोजकले रातो कार्ड लिएको विषयमा पुनर्विचार गरिदिनुपर्छ ।’ पञ्जावका कप्तान जगदीपले आफूहरूले उत्कृष्ट खेल प्रर्दशन गरेकाले नेपालका दर्शकको साथ र समर्थनले गोल्डकपको उपाधि जित्ने दाबी गरे ।

बिहीबारको अन्तिम सेमिफाइनलमा खेलाडीले झगडा गरेपछि पञ्जावका कप्तान जगदीप र संकटाका साहिद स्मार्टलाई रेफ्री श्याम दनुवारले रेड कार्ड दिएका थिए ।

कार्ड पाएसँगै पञ्जावका कप्तान जगदीप फाइनल खेल्नबाट बञ्चित हुने छन् । प्रशिक्षक हरनेशका अनुसार जगदीपको ठाउँमा फाइनलमा हरजीन्द्र सिंहले कप्तानी गर्नेछन् ।

२६ चैतदेखि सुरु भएको रात्रीकालीन प्रतियाेगिताकाे विजेताले १५ लाख १५ हजार र उपविजेताले सात ५१ हजार रुपैयाँ नगद पाउनेछन् । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकलसहित पदक दिइने छ । प्रशिक्षक, गोलकिपर, मिडफिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्डमा जनही २५/२५ हजार रुपैयाँ पुरस्कार राखिएकाे छ ।

Featured