देश राजनीति

जनमोर्चाले समर्थन फिर्ता लिएसँगै गण्डकीमा यस्तो बन्यो नयाँ सरकार बनाउने समीकरण

राष्ट्रिय जनमोर्चाले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिइएको घोषणा गर्‍यो । जनमोर्चाले समर्थन फिर्ता लिएसँगै अब नयाँ सरकार बन्ने निश्चित भएको छ ।

मुख्यमन्त्री गुरुङले अब ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । आफ्नै नेतृत्वको सरकार जोगाइराख्न उनले ३१ सांसद आफ्नो पक्षमा पार्नुपर्छ । तर, हालको अवस्थामा त्यो सम्भव देखिँदैन ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा २७ जना एमाले सांसद छन् । एमालेबाहेक कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद नयाँ सरकार बनाउनुपर्ने पक्षमा उभिएका छन् ।

त्यस्तै मनाङबाट राजीव गुरुङ (दीपक मनाङे) स्वतन्त्र सांसद छन् । उनले पनि बुधबार नयाँ सरकार बन्नुपर्ने र एमालेले नयाँ सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए । तर, अविश्वासको पक्षमा लाग्ने/नलाग्नेबारे बोलेका छैनन् । उनी मुख्यमन्त्री गुरुङकै पक्षमा लाग्दा पनि नयाँ सरकारको जोडघटाउमा फरक पर्दैन ।

मनाङे पृथ्वीसुब्बाकै पक्षमा लागे भने पनि एमालेका २७ सहित २८ सांसद उनको पक्षमा हुन्छन् । सरकार जोगाउन आवश्यक मत नपुग्दा नयाँ सरकार बन्ने अवस्था आउँछ । २५ चैतमा गण्डकी सरकारमा रहेका दुई माओवादी मन्त्री बाहिरिएसँगै मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार धरापमा परेको हो । माओवादीले सरकार छोडे पनि समर्थन फिर्ता लिएको छैन ।

Featured