देश राजनीति

लडेर ल्याएको संसद चल्न दिइएन : प्रधानमन्त्री

पात्र उही । प्रवृति उस्तै। प्रस्तुती पुरातनवादी । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको नाममा सम्बोधन गर्दै भने –‘२०७८ वैशाख १ गते पात्रोको पाना मात्रै होइन । मिति परिवर्तन मात्रै होइन, हामीले स्तर पनि परिवर्तन गरेका छौँ ।’

नयाँ वर्षको उपलक्ष्यमा प्रधानमन्त्रीको सम्बोधनमा आत्मालोचनाले स्थान पाएन, उत्साही हुने योजना अटाएन । सरकारको नजरमा सफलताका सूची परे । सन्देशमा एकताको अपिल बाहेक उमंग ल्याउने विषयवस्तु थिएनन् । सम्बोधनका क्रममा प्रधानमन्त्रीले  भने –‘सरकारका क्रियाकलाप भविष्यप्रति  आशा जगाउने किसिमका छन् ।’

प्रधानमन्त्रीले अघि सारेका महत्वाकांक्षी योजना नराम्रा पक्कै छैनन् । तर आशा र नतिजाबीचको सन्तुलन कहिल्यै कायम गर्न नसकेकाले विश्वास गर्न लायक छैनन् । यो वर्ष १ सय ६५ निर्वाचन क्षेत्रमा रणनीतिक महत्वका सडक निर्माणलाई पुरा गर्ने दिशामा सरकार अघि  बढ्ने उनले सुनाए ।

यी सडकको विस्तृत कार्ययोजना प्रतिवेदन तयार नभएकै अवस्थामा प्रधानमन्त्रीले एकवर्षभित्र पूर्णताको दिशामा जाने ठोकुवा गरेका छन् । यसको लागतबारे समेत सरकारले केही जानकारी गराएको छैन ।

विकासका एजेण्डामा अति नै महत्वकांक्षी प्रधानमन्त्री ओलीले डिजिटल शिलान्यास गरेका रणनीतिक महत्वका सडक चुनावी रणनीति हो भन्ने सहजै बुझ्न सकिन्छ । उनले यही महिनाबाट रेल चल्ने बताए । लिफ्ट सहितको धरहराको उद्घाटन गर्ने तरखरबारे बेलिविस्तार लगाए । मेलम्ची आयोजना उद्घाटनलाई सफलता माने । ‘हामी जस लिने होडबाजीमा छैनौँ । जनतालाई सुविधा नै सरकारको प्राथामिकता हो’  उनले भने । मेलम्चीको श्रृंखलाबद्ध उद्घाटनले नै प्रधानमन्त्रीको भनाइको खण्डन गरिसकेको छ ।

तर यो सम्बोधनमा उनले नागरिक समक्ष केही प्रतिबद्धता जनाएका छन् । सरकार जनताको स्वास्थ्यमा संवेदनशील रहेको कुरा सुनाएका छन् । सरकार जनताको जीवन रक्षाको निम्ति तयार रहेको भन्दै सतर्क बन्दै महामारीविरुद्ध लड्न सरकारलाई आफ्नो स्तरबाट सहयोग गर्न अपिल गरेका छन् । ‘सरकार लकडाउनको धम्की दिने पक्षमा छैन तर परिस्थिति जटिल बन्यो भने त्यसको विकल्प छैन । हामी जनताको जीवन रक्षाका निम्ति तयार छौँ । कोरोनाको दोस्रो लहरबाट कम क्षती तुल्याउन जनस्वास्थ्य मापदण्डका पालना गरी सहयोग गरिदिन आग्रह गर्दछु‘ उनले भने ।

प्रधानमन्त्रीले युवाहरुलाई उपलब्ध रोजगारीमा सामेल हुन आग्रह गरे । रोजगारी सिर्जना गर्ने विषयमा सरकारका योजना सुनाएनन् । महँगी नियन्त्रण गर्दै जनजीवन सामान्य बनाउने योजनाबारे  उनको सम्बोधन मौन थियो ।

ओलीले गत वर्ष जनताको स्वास्थ्यसँगै राजनीतिको स्वास्थ्यमा पनि असर पुगेको बताए । राजनीति अस्वस्थ हुनुको कारण उनैलाई मानिएको छ । उनकै कारण प्रतिनिधिसभा विघटन भएको थियो । पुर्नस्थापनापछि पनि राजनीतिक गतिरोध विद्यमान छ । संसदलाई सरकारले विजनेश नदिएको आरोप  लागिरहेको छ । आफ्नो सम्बोधन मार्फत उनले त्यस आरोपको खण्डन गर्दै भने –‘मुद्धा लडेर ल्याइएको संसद चल्न दिइएन । एमसीसी कार्यसुचीमा नराखेर, सरकारले ल्याएका अध्यादेश टेबल गर्न नदिएर कानुन विपरीतका काम भएका छन् ।’ २३ फागुन यताका संसद बैठकमा प्रधानमन्त्रीको सहभागिता छैन । पुर्नस्थापित प्रतिनिधिसभाप्रति उनको  उपेक्षा बुझ्न  यति नै काफी छ । सदन विजनेशविहीन हुनुमा आफ्नो हिस्सा कति भन्ने जानकारी गराउन उनले  आवश्यक ठानेनन् ।

यस सम्बोधनका क्रममा प्रधानमन्त्रीले उठाएको अर्को विषय हो, एकता । ओलीकै  कारण नेकपा विभाजित बन्यो । २३ फागुनमा सर्वोच्च अदालतले नेकपा विघटन गरेर एमाले र माओवादी केन्द्र व्युँताएपछि पनि  एमाले विभाजनतर्फै उन्मुख छ । माधवकुमार नेपाल सहित भीम रावल, घनश्याम भुसाल सुरेन्द्र पाण्डेलाई ओलीले कारबाही गरेपछि उनीहरु समानान्तर कमिटि बनाउन केन्द्रित छन्  । राजनीतिमा धाँजा फाट्नुमा जिम्मेवार ओलीले भनेका छन् –‘हामी विमती हटाएर निकटता कायम राख्ने पक्षमा छौँ । हामी फाटोको पक्षमा होइन एकताको पक्षमा छौँ । सबैसँग निकटता राख्दै एकताको सामथ्र्य देश विकासको निम्ति प्रयोग गर्ने पक्षमा छौँ ।’

निराशा जगाउन खोजिएका प्रयासलाई अस्वीकार गर्दै आत्मविश्वासका साथ आशावादी भएर अघि बढ्न प्रधानमन्त्रीले  सम्बोधनमा सुझाएका छन् । पात्रो बदलिएको पस्थितिमा ओलीले आफ्नो प्रवृत्ति बदले मात्रै उनले एकताका लागि गरेको पहलले सार्थकता पाउने देखिन्छ । योजना र नतिजाबीचको दुरी घटाए मात्रै उनको महत्वाकांक्षी योजनाले पूर्णता पाउनेछ । प्रधानमन्त्री आफैँले भनेझैँ मिति परिवर्तित भएको अवस्थामा स्वयंम्ले पनि प्रवृति बदल्न जरुरी छ ।

Featured