देश राजनीति

लहान डकैती : जिप र सुनचाँदी भेटियो, डाका समूह अझै फरार

लहानका सुनचाँदी व्यवसायीको घरबाट लुटेराको समूहले लुटेर लगेको जिप र सुनचाँदी भेटिएको छ । डाकाको समूले लहान- ७ स्थित राजेश सारडाको घरबाट लुटेर लगेको बा १० च ९३०२ नम्बरको जिप र सुनचाँदी सोमबार राति साढे ९ बजेतिर फेला परेको हो ।

सोमबार बेलुकी साढे ७ बजेतिर आएको हतियारधारी डाकाको समूहले सारडाका पिता भगिरथ सारडा र श्रीमतीको कन्चटमा पेस्तोल तेर्स्याएर सुनचाँदी र जिप लुटेर लगेका थिए ।

खोजतलास गर्दै जाँदा सिरहाको कल्याणपुर नगरपालिका- १२ बेल्हामा बेवारिसे अवस्थामा जिप र लुटिएको भनिएको सुनचाँदी भेटिएको इलाका प्रहरी कार्यालय लहानका डीसपी डा. तपन दहालले बताए ।

जिपसहित त्यसभित्र परिवारजनले भनेअनुसारका सबै सुनचाँदी भेटिएको उनले बताए । ‘हामीले सबै सामान यकिन गराएका छौँ, लगभग सबै भेटिएको छ,’ उनले भने, ‘केही तलमाथि हुनसक्छ, हामी परिवारजनसँग फेरि यकिन गराउँछौँ ।’डाकाहरुको भने सुराक पत्ता लागेको छैन । उनीहरू गाडी अप्ठ्यारो ठाउँमा छोडेर भागेको र खोजबिन भइरहेको डीएसपी दाहालले जनाए ।

तीनजना हतियारधारी लुटेराहरुको समूहले स्थानीय सुनचाँदी व्यपारी राजेश साडाको घरमा प्रवेश गरी उनका पिता भगिरथ सारडा र श्रीमतीको कन्चटमा तेर्स्याएर लकर फोडेर सुनचाँदी र बलजफ्ती साँचो खोसेर घरमा पार्किङ गरेर राखिएको जिप लुटेर लगेका थिए ।

Featured