देश

आज बुटवलमा तीन र कैलालीमा एक संक्रमितको मृत्यु

बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रूपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । यही २१ चैतमा कोरोना अस्पतालमा भर्ना भएकी महिलामा ज्वरो, निमोनिया, श्वासप्रश्वासमा समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका –५ निवासी ७९ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । २७ चैतमा अस्पताल भर्ना भएकी उनमा ज्वरो, निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

त्यसैगरी, कपिलवस्तुको वाँणगङ्गा नगरपालिका–३ निवासी ७१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । २७ चैतमा नै अस्पतालमा भर्ना भएका पुरुषमा ज्वरो निमोनिया, मधुमेह जस्ता समस्या रहेको अस्पतालका सूचना अधिकारी गौतमले बताए ।

कैलालीमा एक जनाको मृत्यु

कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना भाइरस सङ्क्रमणका कारण आज मृत्यु भएको छ । कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतबार राति अस्पताल पुग्नु भएका उनको नमूना परीक्षण गर्दा कारोना संक्रमणको पुष्टि भएको थियो ।

 सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले आइतबार राति भर्ना भएका उनको अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिए । गएको फागुनमा उनी भारतबाट घर फर्किएको जनाइएको छ । सेती प्रादेशिक अस्पतालमा संक्रमित चार जनाको उपचारको व्यवस्थापन भइरहेको छ ।

‘संक्रमितमध्ये दुई जनाको भेन्टिलेटरमा र एक जनाको आइसीयूमा उपचार भइरहेको छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘ १० फागुनयता कोरोनाका कारण हुने मृत्यु दर अस्पतालमा शून्य रहेकामा आज ५० दिनपछि एक जना संक्रमितको मृत्यु भएको हो ।’

पछिल्ला हप्तामा भारतमा यो रोगको संक्रमण र मृत्युदर बढेसँगै नेपालमा यो रोग फैलिने जोखिम देखिएको छ । सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोनाको संक्रमण बढेसँगै त्यहाँका शैक्षिक संस्था बन्द गरिएको छ ।

महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचाररत एक जना संक्रमितको पनि केही दिनअघि मृत्यु भएको थियो । रोग फैलिन नदिन सचेतना कार्यक्रम सञ्चालन भइरहेको भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा भइरहेको लापरवाहीले कोरोना भाइरसको जोखिम बढ्ने देखिएको श्रेष्ठले बताए ।

मास्क नलगाई हिँड्ने, एक आपसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । पछिल्ला दिनमा प्रदेशमा यो रोगको संक्रमण दर बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्यांकका अनुसार पछिल्लो तीन हप्तामा १२७ जनामा संक्रमणको पुष्टि भएको छ ।

Featured