देश राजनीति

ओली सरकारले जनतालाई झुक्याउने काम गर्‍यो : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनतालाई झुक्याउने काम मात्रै गरेको आरोप लगाएका छन् । आइतबार नेपाल दलित संघले आयोजना गरेको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले संसदीय व्यवस्था नै गलत हो भनेर जनतामा स्थापित गराउन संसदलाई उपेक्षा गरिरहेको आरोप लगाएका हुन् ।

‘संसद विघटनको निर्णय बदर गर्दै सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएपछि पनि प्रधानमन्त्री संसदीय व्यवस्था नै गलत हो भनेर जनतामा स्थापति गराउन लागिपरेका छन्,’ उनले भने, ‘संसद विघटन जायज हाे भनेर स्पष्टीकरण दिँदै उनी हिँडेका छन् । विभिन्न बहानामा संसद विघटनतिरै मुलुकलाई लान खोज्दैछन् ।’

उनले संसदमा उपस्थित भएर जनताले उठाएका प्रश्नको जवाफ लिन प्रधानमन्त्री ओलीलाई चेतावनी पनि दिए । सिंहले नभएको विकास गर्‍यौं भनेर सरकारले जनतालाई झुक्याउने काम गरिरहेको बताए । ‘यो सरकारले देश र जनतालाई झुक्याइरहेको छ । नभएको विकास भयो भनेर जनताको मत र विश्वासमाथि खेलवाड गरिरहेको छ,’ उनले भने ।

Featured