देश

मध्य राति आक्रमण गरी लहानमा सुनचाँदी व्यवसायीको हत्या

सिरहाको लहान नगरपालिका- २३ मा सुनचाँदी व्यवसायीको गोली तथा धारिलो हतियार प्रहार गरी हत्या भएको छ । लुटेरा समूहले सुनचाँदी व्यवसायीको गोली तथा धारिलो हतियार प्रहार गरी हत्या गरेको हो ।

प्रहरीका अनुसार लहान नगरपालिका- २३ गड्डाचोक डेरा गरी बस्ने अन्दाजी ४५ वर्षीय प्रदीप कुमार विश्वकर्माको लुटेरा समूहको आक्रमणमा परी मृत्यु भएको छ । उनीमाथि लुटेरा समूहले धारिलो हतियार र गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

मृतककी श्रीमती ३५ वर्षीया अनिता विश्वकर्मा घाइते भएकी छन् । उनको हातमा धारिलो हतियार प्रहार भएको सिरहाका एसपी सुदीपराज भण्डारीले बताए । घाइते अनिताको लहानस्थित सप्तऋषि अस्पताल उपचार भइरहेको भण्डारीले बताए ।

प्रहरीका अनुसार घटना राति साढे १२ बजेतिरको हो । घरमा सुतीरहेको समूहमा लुटेराले बिक दम्पतीमाथि आक्रमण गरेको थियो । लुटेरा समूहको प्रतिकारका क्रममा बिकको मृत्यु भएको र श्रीमती घाइते भएको बताइएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गोली हानी हत्या गरिएका यूवकको वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदीको पसल थियो । श्रीमतीसँग त्यहीँ बसेका बेला लुटेरा समूहले गोली चलाएको बुझिएको छ ।

Featured