देश राजनीति

हाम्रो अभियान ओली हटाउन होइन : माधव नेपाल

नेकपा (एमाले) का नेता माधकुमार नेपालले आफ्नो अभियान केपी ओलीको पद खोस्नका निम्ति नभएको बताएका छन् । वीरगञ्जमा समानन्तर कमिटी घोषणा गर्न पुगेका नेता नेपालले पदका लागि नभइ कम्युनिस्ट आन्दोलनको रक्षाका निम्ति लागिपरेको बताएका हुन् ।

सत्य र न्यायका लागि कार्यकर्ता माझ आएको र कार्यकर्ताबाटै न्याय खोज्ने नेता नेपालको भनाइ थियो । ‘केपी ओलीनै प्रधानमन्त्र बनुन् २० भोटले हारेको अध्यक्ष पनि चाहिँदैन तर पार्टीभित्रको विधि विधान र पद्धति जीवित रहनुपर्छ यसको निम्ति सधैँ लड्नेछु।’

ओलीविरुद्धको लडाइँ कम्युनिस्ट पार्टीलाई उनको प्रवृत्तिबाट बचाउन भएको नेपालको भनाइ छ । नवौँ महाधिवेशनबाट ओली अध्यक्ष चयन भएपछि पार्टीमा समस्या आएको नेपालको जिकिर छ । पार्टीको विकासमा ओली नै बाधक रहेको आरोप उनले लगाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता घनश्याम भुसालले ओली सम्पूर्ण उपलब्धिलाई तहसनहस बनाउन उद्दत रहेको टिप्पणी गरे । ‘जनताले परिवर्तनको अपेक्षा राखेर बहुमत दिए पनि जनताको सपनामै प्रहार गर्ने ढंगले ओलीले तानाशाही प्रवृत्ति अंगाले,’ उनले भने ।

ओलीको बदमासी सुधार गर्दै पार्टीको रक्षाका निम्ति एकजुट हुन दुबै नेताल कार्यकर्तालाई आग्रह गरेका छन् । त्यस भेलाले बालगोपाल थापाको अध्यक्षतामा पर्सा जिल्ला कमिटी घोषणा गरेको छ ।  पर्सामा ओली पक्षका प्रभु हजरा अध्यक्ष छन् ।

Featured