देश राजनीति

पेरिसडाँडाबाट माओवादीले चुन्याे प्रदेश २ लाई संसदीय दलको नेता

नेकपा माओवादी केन्द्र प्रदेश २ को संसदीय दलको नेतामा भरतप्रसाद साह चुनिएका छन् । हिजाे काठमाडौंस्थित पेरिसडाँडामा बसेको माओवादी संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा प्रदेशकाे दल नेता बनाएकाे हाे ।

त्यस्तै सांसद जगत यादवलाई उपनेता, दिलिप साहलाई प्रमुख सचेतक र रुबी कर्णलाई सचेतक चुनिएका छन् । दलका नेता साह महोत्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने उपनेता यादव र प्रमुख सचेतक साह सिरहाबाट प्रदेशसभाका सांसद हुन् । त्यसैगरी कर्ण सप्तरीबाट चुनिएकी सांसद हुन् ।

संसदीय दलको बैठकले माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन पनि भनेकाे दलका नेता साहले जानकारी दिए । संसदीय दलको नेताबाट हटाइएका मण्डल, कुन्दन साह, ज्वाला साह र मो. समिर अन्सारी माओवादी केन्द्र छाडेर एमालेमा गएका हुन् ।

उनीहरूले स्पष्टीकरणको जवाफ दिएर पार्टीमा नफर्किए प्रक्रिया पूरा गरी सांसदबाट हटाउने माओवादीको तयारी छ । तर सिद्धान्त र विचारका लागि सांसद पद त्यग्न तयार रहेको एमालेमा गएका सांसद मण्डलले बताउँदै आएका छन् । मण्डललगायत एमालेमा गएका चारैजना सांसद प्रभु साहनिकट हुन् ।

साह स्वयं एमालेमा गएका छन् । उनी एमालेतिर लागेपछि प्रदेश २ मा माओवादीलाई असर परेकाे छ । प्रदेशमा माओवादी केन्द्रका ११ र नेकपा एमालेका २१ सांसद छन् ।

Featured