देश

४० हजार घूससहित प्रहरी जवान पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घूससहित एक जना प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारका अनुसार सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई ४० हजार अतिरिक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।

अख्तियारका अनुसार यादवले इलाका प्रहरी कार्यालय सीतागञ्जमा परेको उजुरी मिलाइदिने भन्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ मागेका थिए । उक्त सूचना पाएपछि अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले उक्त रकमसहति नियन्त्रणमा लिएको हो ।

उनलाई सो रकम लिइसकेको अवस्थामा विराटनगर महानगरपालिका- १४ स्थित नोबेल मेडिकल कलेजको गेटनजिकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।

Featured