देश

एकैपटक १६५ सडक शिलान्यास, सडक निर्माणमा ढिलाइ नगर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट ओलीले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक हुने गरी १६५ सडकको शिलान्यास गरेका हुन् ।

५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरिएका सडक निर्माणमा ढिला नगर्न आग्रह गरे ।

ओलीले आफू प्रधानमन्त्री भएदेखि अहिलेसम्म कालोपत्र सडक निर्माण र स्तरोन्नति सडक तीन हजार ५१२ किलोमिटर भएको जानकारी दिए । उनका अनुसार ६२८ वटा सडक पुल (झोलुङ्गे) पुलबाहेक निर्माण भएका छन् ।

कार्यक्रममा यातायात तथा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङले तीन वर्षमा ३ हजार ५१२ किलोमिटर ६ लेनका सडक निर्माण भइरहेको जानकारी दिए । यस्तै ३ हजार ३०० किलोमिटर ग्राभेल सडक, १ हजार ६८६ किलोमिटर नयाँ ट्र्याकका सडक पनि निर्माणका क्रममा रहेको नेम्वाङले जानकारी दिए ।

नेम्वाङले पूर्व-पश्चिम राजमार्गलाई चारदेखि छ लेनसम्म विस्तार गर्न थालिएको बताए । उनका अनुसार प्रतिदिन ६.५ किलोमिटर बाटो निर्माण सङ्घीय सरकारले गरिरहेको छ ।

Featured