देश

भारत साफ यु–१५ च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं, भदौ १०-आफ्नो शानदार जितको यात्रालाई कायम राखेको आयोजक भारतले मंगलबार साफ यु–१५ च्याम्पियनसिपतर्फ लगातार तेस्रो जित हात पारेको छ।

भारतका लागि खेलको ३२औं मिनटमा हिमांशु जंग्राले पहिलो गोल गरे। लगतै ३९औं मिनटमा महेसन तंग्रमले भारतको त्यो अग्रता दोब्बर पारे। पहिलो हाफमै आक्रमक देखिएको भारतका लागि ४३औं मिनटमा हिमांशुले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।

त्यस्तै पहिलो हाफको इन्जुरी समयमा शुभो पाउलले गोल गर्दै आयोजकको अग्रता पहिलो हाफमै ४–० ले पुराएका थिए। खेलको ६२औं मिनटमा हिंमाशु जंग्राले नै भारतका लागि पाँचौं गोल गर्दै टोलीको शानदार जित पक्का गरे भने आफ्नो ह्याट्रिक समेत पूरा गरे।

यो नतिजासँगै ३ खेलबाट ९ अंक जोडेको भारत अंक तालिकाको शिर्ष स्थानमा यथावत छ र फाइनल पुग्ने सम्भावनालाई लगभग पक्का गरेको छ। भारतले अब लिग चरणको अन्तिम खेलमा साविक विजेता बंगलादेशसँग खेल्नेछ। जुन भारतका लागि बराबरी नतिजा पनि प्रर्याप्त हुनेछ। त्यस्तै फाइनल होडमा रहेको नेपाल र बंगलादेश आज नै दोस्रो खेलमा भिड्दै छन्।