देश साहित्य

यस वर्षको पद्मश्री साहित्य पुरस्कार ‘छुटेका अनुहार’ लाई

काठमाडौं, भदौ १०–यस वर्षको पद्मश्री साहित्य पुरस्कार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ लाई प्रदान गरिने भएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

छुटेका अनुहारमा लेखक रमेश सायनले आफैँले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको सूक्ष्म चित्रण अनुभूतिको गहिराइसम्म पुगेर कलात्मक शैलीमा प्रस्तुत गरेका छन्।

त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान इतिहासविद् तथा संस्कृतज्ञ डा महेशराज पन्तलाई अर्पण गर्ने निर्णय गरिएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए।

दुईसय भन्दा बढी शोधलेखका साथसाथै ६ वटा पुस्तक प्रकाशित गरेका महेशराज पन्त नेपाली भाषा, संस्कृति, इतिहासका अन्वेषक हुन्। दुवै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।