देश

प्रदेश र स्थानीय तहमा दुई खर्ब आठ अर्ब अनुदान हस्तान्तरण

चालु आर्थिक वर्षको दोस्रो चौमासिक अर्थात् फागुन मसान्तसम्म प्रदेश र स्थानीय तहमा चार किसिमका अनुदानबापत दुई खर्ब आठ अर्ब ९१ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरिएको छ । चालु वर्षको लागि वित्तीय हस्तान्तरणअन्तर्गत तीन खर्ब ७२ अर्ब ६२ करोड रुपैयाँ पठाइएकोमा आठ महिनामा जम्मा ५५ प्रतिशत रकम मात्रै पठाइएको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ ।

समानीकरण, सशर्त, विशेष र समपुरक गरी सात प्रदेशमा ५४ अर्ब तीन करोड रुपैयाँ र ७ सय ५३ स्थानीय तहमा एक खर्ब ५८ अर्ब ३९ करोड रुपैयाँ हस्तान्तरण गरिएको छ ।

चालु वर्षमा प्रदेशको लागि ९९ अर्ब ८७ करोड रुपैयाँ यस्तो बजेट विनियोजन गरिएकाेमा आठ महिनामा ४९ प्रतिशत रकम हस्तान्तरण गरिएको छ । यसैगरी स्थानीय तहमा दुई खर्ब ६२ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरिएकोमा अहिलेसम्म ६० प्रतिशत अर्थात एक खर्ब ५८ अर्ब ३९ करोड रुपैयाँ पठाइएकाे छ ।

स्थानीय तहतर्फ प्रतिशतको आधारमा सशर्तअन्तर्गतको अनुदान सबैभन्दा धेरै र विशेषअन्तर्गतको अनुदान सबैभन्दा कम हस्तान्तरण भएको छ ।

एक खर्ब ६७ अर्ब सशर्त अनुदानमध्ये एक खर्ब तीन अर्ब रुपैयाँ हस्तान्तरण भएको छ भने विशेष अनुदानअन्तर्गत ६ अर्ब ८३ करोड विनियोजन गरिएमा दुई अर्ब ३९ करोड रुपैयाँ हस्तान्तरण भएको छ । त्यस्तै समानीकरणतर्फ ९० अर्ब पाँच करोडमध्ये ५४ अर्ब ३० करोड र समपूरकमा चार अर्ब ७८ करोडमध्ये  एक अर्ब ६७ करोड हस्तान्तरण भएको मन्त्रालयका प्रवक्ता समुन दाहालले जानकारी दिए ।

प्रदेशतर्फ प्रतिशतको आधारमा सबैभन्दा बढी रकम गएको छ । समपूरक अनुदानअन्तर्गत पाँच अर्ब १८ करोड रुपैयाँ प्रदेश सरकारलाई विनियोजन गरिएकोमा तीन अर्ब पाँच करोड रुपैयाँ हस्तान्तरण भएको छ । समानीकरण अनुदान ५५ अर्ब १९ करोड विनियोजन भएकोमा २७ अर्ब १२ करोड अर्थात् ४९ प्रतिशत पडाइएकाे छ । यो अवधिमा सशर्तअन्तर्गतको १८ अर्ब २० करोड र विशेषअन्तर्गतको एक अर्ब ४२ करोड रुपैयाँ प्रदेश सरकारलाई दिइएकाे छ ।

Featured