देश

दुर्गाप्रसादलाई क्षतिपूर्ति उपलब्ध गराउन पश्चिम बंगाल सरकारलाई अदालतको आदेश

काठमाडौं, ९ चैत । अदालती सुनुवाइविनै ४० वर्ष भारतीय जेलमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई परिवारको मागअनुसार क्षतिपूर्ति उपलब्ध गराउन अदालतले आदेश गरेको छ ।

दुर्गाप्रसादलाई क्षतिपूर्ति उपलब्ध गराउन कोलकातास्थित उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले पश्चिम बंगाल सरकारका नाममा आदेश गरेका हुन् ।

दुर्गाप्रसाद मुद्दा लडिरहेका अधिवक्ता हिरक सिन्हाका अनुसार सोमबार दुर्गाप्रसादका परिवारलाई कानुनअनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको हो । आदेशमा उनीको आर्थिक अवस्था कमजोर रहेको र विनासुनुवाइ उनलाई ४० वर्षसम्म जेलमा राखेको भन्दै क्षतिपूर्ति उपलब्ध गराउन भनिएको छ ।

दुर्गाप्रसाद शनिबार कोलकाताको दमदम कारागारबाट मुक्त भएका थिए । बुधबार अदालतले उनलाई छोड्न आदेश दिएको थियो । यद्यपि कागजी प्रक्रिया पूरा गरेर उनलाई शनिबार बिहान कारागार प्रशासनले कोलकातास्थित नेपाली महावाणिज्यदूतावासको रोहबरमा परिवारको जिम्मा लगाएको थियो । उनी आइतबार इलाम आइपुगेका छन् ।

Featured