देश

कर्णाली आएका प्रदेश २ का प्रदेश प्रमुखले सडक दुर्घटनामा घाइते भएकाको उद्धार गरे

प्रदेश- २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कनौलीसँग भेटघाट गरी फर्किने क्रममा बाटोमा सडक दुर्घटनामा परेर घाइते भएका चालकलाई उद्धार गरे अस्पतालसम्म पुर्‍याएका छन् ।

उनले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित भेरीगंगा–४ हर्रेमा सवारी दुर्घटनामा परी घाइते भएका चालक ४६ वर्षीय शेरबहादुर सिंहलाई उद्धार गरेर कोहलपुर मेडिकल कलेजसम्म पुर्‍याएका हुन् ।

शनिबार दिउँसो करिब २ बजे नेपालगञ्जबाट फलफूल बोकेर आउँदै गरेको कर्णाली प्रदेशको ०२५६ नम्बरको मिनिट्रक र बा ५ ख ४२०७ नम्बरको ट्रक आपसमा ठोक्किँदा मिनिट्रक पल्टिएर सिंह घाइते भएका थिए ।

कर्णाली प्रदेश भ्रमण सकेर सुदूरपश्चिम प्रदेशको भ्रमणमा जान लागेका प्रदेश प्रमुख अहिराजले दुर्घटनामा परेर घाइते भएको देखेर सिंहलाई आफ्नै गाडीमा राखेर बाँके जिल्लाको कोहलपुर मेडिक कलेज भर्ना गरेको हुन् ।

‘मैले चढ्ने सवारी साधन पनि जनताले तिरेको करबाट हो । घाइतेको अवस्था हेर्दा अर्को गाडी आउने बेलासम्म ढिला हुने भएकाले आफ्नै गाडीमा राखेर कोहलपुर मेडिक कलेजमा पुर्‍याएको हुँ,’ उनले भने, ‘यो मानविय धर्म पनि हो । बाटोमा कोही घाइते छटपटाइरहेको देखेपछि मैले आफ्नै गाडीमा राखेर मेडिकलसम्म लगेर उपचारका लागि भर्ना गरेको हुँ ।’

Featured