विदेश

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसदमा प्राप्त गरे विश्वासको मत

पाकिस्तानका प्रधानमन्त्री इमरान खान आफ्नो सरकार बचाउन सफल भएका छन् । आफ्नो अविश्वास प्रस्तावविरुद्ध शनिबार भएको मतदानमा उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

मतदानमा प्रधानमन्त्री खानले १७८ मत प्राप्त गरे । तर, उनलाई अविश्वासकाे मतमाथि विजयी हासिल गर्न १७० मत ल्याए पुग्थ्यो ।

भारतीय संचार संस्था पीटीआइका अनुसार सभामुख असद क्वाइसरले प्रधानमन्त्री खानले विश्वासको मतप्राप्त गरेको घोषणा गरेका थिए । जितसँगै खानले पाकिस्तानी संसदमा आफ्नो बहुमत भएको सन्देश दिएका छन् ।

यसैबीच खानका पार्टीका कार्यकर्ता र विपक्षी सांसद र नेताहरूबीच संसद भवनबाहिर झडप भएको छ । बैठक बहिस्कार गरेर खानविरुद्ध नारावाजी गरिरकेका विपक्षी दलका नेतामाथि जुत्ता प्रहार भएपछि झडप भएको भारतीय सञ्चार माध्यमले जानकाएका छन् ।

मतदान प्रक्रियालाई बहिस्कार गर्दै विपक्षी दलका नेताहरूले संसद भवन बाहिर नाराजुलुस गरेका थिए । मतदानका लागि सभामुखले आग्रह गरेर पाँच मिनेटको समय दिएका थिए । तर, विपक्षी दलका सांसदहरू मतदान प्रक्रियामा सामेल भएनन् । विपक्षी दलका नेताहरूले खानले धाँधली गरेको आरोप लगाएको छ ।

विपक्षी दलका नेता रहमानले यो प्रक्रियाको कुनै राजनीतिक महत्त्व नभएको बताएका छन् । इमरान सरकारलाई देशको प्रतिनिधि सरकार पनि नमान्ने उनको भनाइ छ ।

यता खानको पार्टीका कार्यकता र समर्थकले उनको समर्थनमा राजधानी इस्लामाबादका विभिन्न क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । प्रधानमन्त्री खानलाई सेनाको पनि समर्थन रहेको जनाइएको छ ।

Featured