देश

एभरेस्ट डोर इन्डष्ट्रिजमा आगलागी, ९ करोडको क्षति

रूपन्देहीको शुद्धोधन गाउँपालिका- ३ बेतहीमा रहेको एभरेस्ट डोर ईन्डिष्टिज तथा सदिक्षा स–मिलमा भीषण आगालागी हुँदा ९ करोडको क्षति भएको बताइएको छ

प्लाई, प्लाईका ढोका उत्पादन गर्ने ईन्डिष्टिजमा आगालागी हुँदा ९ करोडको क्षति भएको हो । शुक्रबार बिहान ५ बजेतिर विद्युत् सट भएर आगलागी भएको बताइए पनि आगलागीको कारण भने खुल्न सकेको छैन ।

रूपन्देहीका पाँचवटा दमकल, स्थानिय र प्रहरीको संयुक्त प्रयासमा आगालागी ४ घण्टापछि नियन्त्रणमा आएको थियो । उद्योगमा तयारी ढोका र प्लाइउड, कच्चादेखि दुई करोड रुपैयाँसम्म पर्ने ठूला मेसिनसमेत पूर्ण रूपमा जलेर कामै नलाग्ने भएको इन्डष्ट्रिजका प्रबन्धक रामप्रसाद खनालले बताए ।

उद्योगमा आगोको मुस्लो देखेपछि छिमेकीले सञ्चालकलाई खबर गरेका थिए । ३ वर्षअघि १५ करोड लगानीमा उद्योग सञ्चालनमा आएको थियो । उद्योगमा १ सयभन्दा बढी मजदुरले रोजगारी पाएका थिए ।

एभरेष्ट महिला उद्योगी भगवती पाण्डे र गीता बस्याल सञ्चालन गरेको उद्योग हो । उद्योगका सञ्चालक सूर्यप्रसाद खनालले बजारमा पठाउन तयार भएको तयारी सामान जलेर नष्ट भएको बताए ।आगालागीबाट कच्चा पदार्थ, तयारी सामान सबै नष्ट भएको उद्योगीको भनाइ छ । आगालागीबाट करोडौँ रुपैयाँको क्षति भए पनि स्थानीय तह हेर्नसमेत नआएको खनालले बताए । एभरेष्ट इन्डष्ट्रिज रूपन्देहीमा ठूलो धनरासी लगानी गरी सञ्चालनमा ल्याइएको उद्योगमध्ये पर्छ ।

Featured