देश

मेलम्चीको पानी काठमाडौंमा, प्रधानमन्त्री भन्छन् : लड्डु खाने दिन आज हो

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंको सुन्धरीजलमा झारिकएको छ । १० फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको पानी त्यसको १२ दिनपछि शनिबार सुन्दरीजल पुगेको हो ।

मेलम्चीको पानीको स्वागतका लागि सुन्दरीजल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर उद्घाटन गरे । पानी सुन्दरीजलमा खसेलगत्तै प्रधानमन्त्री ओलीले भने, ‘मेलम्चीको पानी काठमाडौंमा झार्ने लामो सपना पूरा भएको छ, नेपालले ठूलो पड्को मारेका छ ।’

प्रधानमन्त्री ओलीले कोसी व्यारेज हुँदै बग्ने पानी अब बागमतीमा बग्न थालेको र यो ठूलो उपलब्धि भएको बताए । उनले संसद् पुनर्स्थापनामा भएको विषयमा लड्डु खानेहरूलाई अहिले लड्डु खानका लागि आग्रह गरे । ‘लड्डु जतिबेला पायो त्यतिबेला खाने होइन, लड्डु खाने आज हो,’ उनले भने ।

प्रधानमन्त्री ओलीले खाने पानीमन्त्री मणिचन्द्र थापालाई भाग्यमानी मन्त्रीको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले जनतलाई घरघरमा लड्डु खान र दीपावली बनाउनका लागि आग्रह गरेका छन् ।

पानी काठमाडौं पुगे पनि प्रयोगका लागि धारामा पुग्न भने अझै काम बाँकी रहेका छन् । प्रधानमन्त्री ओलीले भने केही दिनभित्र नै पानी वितरण हुने दाबी गरेका छन् । मेलम्चीको पानी काठमाडौं पुगेपछि पानीको समस्या समाधान हुने बताइएको छ । प्रधानमन्त्री ओलीले काठमाडौंमा पानीको अभाव अब हट्ने बताए ।

Featured