देश राजनीति

कांग्रेस संसदीय प्रणालीको ‘डेडलक’ हटाउन केन्द्रित हुनुपर्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउने भएको बताएका छन् । शनिबार बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संसदीय प्रणालीको संरक्षक आफूहरू भएको र संसदीय प्रणालीमा आउनु अवरोध आफूहरूको असफलता हुने भन्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले अरु आंकाक्षा नराखी संसदको अवरोधलाई हटाउने कुरामा मात्रै केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

संसदीय व्यवस्थालाई क्षति पुर्‍याउने काम आफूहरूले गर्नु नहुने उनको भनाइ छ । ‘संसदीय प्रणालीको संरक्षक हामी नै हौँ । संसदीय प्रणालीमा कुनै अवरोध आयो भने त्यो असफलता हाम्रो असफलता हो । त्यसकारण त्यो कुरा बुझेर हामीले संसदीय प्रणालीको डेडलकलाई हटाउने मात्रै कुरामा आफूलाई केन्द्रित गरौँ,’ उनले भने ।

भविष्य लोकतान्त्रिक समाजवादको रहेको भन्दै उनले अरूको स्वार्थमा नलाग्न पनि आग्रह गरेका छन् । उनले उनले कम्युनिस्ट असफल भइसकेको पनि बताए । संसदीय व्यवस्थालाई क्षति पुर्‍याउने काम नगरी कांग्रेस भोलि नै अवरोध फुकाउनमा केन्द्रित हुनुपर्ने धारणा राखे ।

‘भविष्य लोकतन्त्रको हो । भविष्य लोकतान्त्रिक समाजवादको हो । कम्युनिष्ट फेल भइसकेका छन् । संसदीय व्यवस्था विरुद्ध हतियार उठाउनेहरु एक एक गरेर असफल भएका छन् । तर संसदीय व्यवस्थालाई क्षति पुर्‍याउने काम हामीले नगरौँ,’ उनले भने ।

Featured