देश राजनीति

कञ्चनपुरको नेपाल-भारत सीमामा तस्कर र प्रहरीबीच दोहोरो भिडन्त, एक जनाको मृत्यु

कञ्चनपुरको नेपाल-भारत सीमानजिक तस्कर र प्रहरीबीच भएको दोहोरो भिडन्तमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। बेलौरी नगरपालिका-७ स्थित सीमामा भएको तस्कर र प्रहरीबीच दोहोरो भिडन्तमा परी भारतको पिलिभित बुदानकाका अन्दाजी २५ वर्षीय गोविन्द सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

भारतबाट नक्कली नोट छाप्ने मेसिनसहित लागुऔषध ओसारप्रसार भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । गस्तीमा खटिएको प्रहरी टोलीमाथि तस्करको समूहले फायर गरेपछि जवाफी कारबाहीमा सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जना भने भाग्न सफल भएको डीएसपी थापाले बताए ।

तस्करको समूहको साथबाट नेपाल भित्र्याउँदै गरेका दुई वटा नक्कली नोट छाप्ने मेसिन, नोट छाप्न प्रयोग गरिने कागज, ६५ ग्राम ब्राउन सुगर र २४ ग्राम सेतो सुगर पनि प्रहरीले बरामद गरेको छ । डीएसपी थापाका अनुसार भारतबाट मृतकका आफन्त आइसकेको र पोष्टमार्टमपछि आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर शव जिम्मा लगाइने छ ।

Featured