देश राजनीति

देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।  पुनर्स्थापित प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका हुन् ।

बूढानीलकण्ठस्थित देउवा निवासमा बिहीबार दिउँसो ३ बजे बस्ने पदाधिकारी बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ । बैठकमा २३ फागुनमा बस्ने पुनर्स्थापित संसदको बैठकमा कांग्रेस कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

‘पुनर्स्थापित संसदको बैठक २३ फागुनमा बस्दैछ । त्यो बैठकमा प्रतिपक्षी दलका हैसियतमा कांग्रेसको कस्तो भूमिका रहने भन्ने विषयमा बैठकमा छलफल हुन्छ,’ उनले भने ।

पुनर्स्थापित संसदका विषयमा छलफल गर्न कांग्रेसले शुक्रबार संसदीय दलको बैठक पनि बोलाएको छ । संसदीय दलको बैठक बस्नुअघि पदाधिकारी बैठकले संसद बैठकमा कांग्रेस कसरी प्रस्तुत हुने भन्ने विषयमा आधिकारिक धारणा तय गर्ने बताइएको छ ।

कांग्रेसले पुनर्स्थापित संसदको बैठकअघि केन्द्रीय कार्यसमितिको बैठक बोलाउने पनि तयारी गरेको छ । केन्द्रीय समिति बैठक सम्भवतः शनिबार बस्नेछ ।

Featured