देश राजनीति

एसएसबीले महिलामाथि दुर्व्यवहार गरेपछि नेपालीले घेरे बेलहिया सीमानाका

रूपन्देहीको बेलहियास्थित सीमानाका नेपालीले घेराउ गरेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमानाका बेलहियामा स्थानीय महिलामाथि अभद्र व्यवहार गरेपछि स्थानीयले नाका घेराउ गरेका हुन् ।

ठूलो संख्यामा उपस्थित भएका स्थानीयले नाराबाजी गर्दै नाकामा प्रदर्शन गरिरहेका छन् । महिलामाथि भएको अभद्र व्यवहारको विरोधमा अहिले सयौँको संख्यामा सीमानाका बेलहियामा स्थानीय जम्मा भएर नाका पूर्ण रूपमा बन्द गरेको स्थानीय माधव शर्माले जानकारी दिए ।

उनका अनुसार बजार गर्न भारतीय बजार सुनौलीतर्फ जाँदै गर्दा बेलहियाकी एक महिलामाथि भारतीय सुरक्षाकर्मीले अभद्र व्यवहार गरेका कारण सीमानाकामा स्वतःस्फुर्त स्थानीय जम्मा भएर नाका बन्द गरेका हुन् ।

भारतीय शुरक्षाकर्मीले ती महिलामाथि बुधबार साझपख अभद्र व्यवहार गरेको स्थानीयले आरोप लगाएका छन् । प्रदर्शनकारीको संख्या बढेपछि सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या बढाइएको छ भने भारतीय सुरक्षाकर्मीको तैनाथी पनि वृद्धि गरिएको छ ।

साझपख सुनौलीतर्फ जाने बेला भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा महिलाको कपडा च्यातिएपछि तनाव उत्पन्न भएको रूपन्देही प्रहरीले जनाएको छ । ‘चेकजाँच गर्ने क्रममा कपडा च्यातिएको रहेछ, त्यो जाने बुझेर च्यातियो कि कसरी च्यातियो त्यो खुलेको छैन्, छलफल चलिरहेको छ’ रूपन्देहीका प्रहरी प्रमुख प्रवीण पोखरेलले भने, ‘यसबारे छलफल तथा छानबिन हुँदैछ।’

Featured