देश राजनीति

प्रदेश १ मा प्रदेशसभा बैठक फेरि सारियो, अर्को बैठक २ चैतमा

प्रदेश १ को प्रदेशसभा बैठक पुनः स्थगित गरिएको छ । ९ फागुनमा  मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएपछि सभामुख भण्डारीले भोलि २० फागुनमा बैठक बस्ने गरी मिति ताेकेका थिए ।  तर, राजनीतिक सहमतिका लागि भन्दै यसअघि ताेकिएकाे बैठक सारेर सभामुखले २ चैत मध्यान्ह साढे १२ बजेलाई बैठक बाेलाएका प्रदेशसभाका सचिव गाेपाल पराजुलीले जानकारी दिए ।

विभाजित नेकपाको ओली र प्रचण्ड-नेपाल समूहको विवादका कारण प्रदेशसभा बैठक अन्योलमा परेपछि राज्य व्यवस्था परामर्श समितिमार्फत विवाद टुंग्याउने प्रयाससमेत गरिएकाे थियाे । तर, दुवै पक्षकाे आआफ्नै अडानका कारण सहमति जुट्न सकेकाे थिएन ।

विवादकै माझ ९ फागुनमा केही बेर बैठक राखेर सभामुख भण्डारीले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव टेबुल गर्न अनुमति दिएका थिए । मुख्यमन्त्री राईले अर्थमन्त्रीबाट हटाएका इन्द्र आङ्बोले बैठकमा अविश्वास प्रस्तावको पत्र पढेर सुनाएपछि २० फागनुसम्मका लागि बैठक स्थगित गरिएकाे थियाे ।

Featured