प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीति बनाउँदा उपभोक्ताको साथ लिएर बनाउने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा जनता तथा उपभोक्ताको साथ लिएर बनाउने बताएका हुन् ।
वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका निम्ति पनि जनताको साथ लिने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप पारिएको भन्दै वन विकासको प्रतिफल दिने नीति आवश्यक रहेको बताए ।
‘वैज्ञानिक वन व्यवस्थापन भनेर त्यसको नाममा यो वन सखाप पार्ने नीति हो भन्ने चाहिँ ठानेको थिइनँ,’ उनले भने, ‘यो त वैज्ञानिक भनेपछि राम्रो होला भनेको त, वैज्ञानिकको नाममा त सखाप नीति रैछ । त्यो सखाप नीति होइन, वैज्ञानिक नीति हुनुपर्यो । दिगो वन विकास नीति हुनुपर्यो । प्रतिफल दिने विकास नीति हुनुपर्यो ।’
प्रधामन्त्री ओलीले सामुदायिक वन उपभोक्ता समितिले वनको संरक्षण गर्न भूमिका खेलेको बताए । उपभोक्ता समितिले नष्ट भइसकेका वनलाई पुनर्जीवन दिएको उनको भनाइ छ । फलस्वरुप वातावरणीय सन्तुलन कायम हुन योगदान पुगेको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस