देश

राष्ट्र बैंकको डेपुटी गभर्नर पद रिक्त, प्रतिस्पर्धामा ८ कार्यकारी निर्देशक

नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद रिक्त भएका छन् । डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको पाँच वर्षे कार्यकाल मंगलबारबाट सकिएसँगै दुई पद रिक्त भएका हुन् ।

केपी शर्मा ओलीको प्रधानमन्त्रीको पहिलो कार्यकालमा १९ फागुन २०७२ मा तत्कालीन एमालेको कोटाबाट सिवाकोटी र कांग्रेस कोटाबाट श्रेष्ठ डेपुटी गभर्नरमा नियुक्त भएका थिए ।

अघिल्लो पटक ढिला गरी नियुक्ति गरिए पनि अहिले भने राजनीतिक उतारचढावका कारण यही साता नै नियुक्ति हुन सक्ने राष्ट्र बैंक स्रोतले बताएको छ ।  त्यसो त अहिलेसम्म राष्ट्र बैंकले डेपुटी गभर्नरका लागि सिफारिस समेत गरेको छैन ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १६ अनुसार राष्ट्र बैंकका गभर्नरको सिफारिसमा डेपुटी गभर्नर मन्त्रिपरिषद्‍ बैठकले  नियुक्ति गर्नुपर्ने हुन्छ ।

गभर्नरले सिफारिस गर्दा बैंकका विशिष्ट श्रेणीका अधिकृत (कार्यकारी निर्देशक) मध्ये आवश्यक परेको दोब्बर संख्यामा सिफारिस गर्नुपर्ने हुन्छ । यस आधारमा राष्ट्र बैंकका गभर्नरले कम्तीमा चार जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकमा अहिले १७ जना कार्यकारी निर्देशक रहेका छन् । १७ मध्येबाट कम्तीमा चार जनाको नाम गभर्नरले सिफारिस गर्नु पर्ने हुन्छ । सामान्यत: डेपुटी गभर्नर सत्ता पक्ष र प्रतिपक्ष दलले भागबण्डाका आधारमा नियुक्ति गरिएको हुन्छ ।

तत्कालीन गभर्नर डा. युवराज खतिवडाको सिफारिसमा अधिकारी तत्कालीन एमाले र  काफ्ले कांग्रेसको कोटाबाट डेपुटी गभर्नरमा नियुक्त भएका थिए ।

निवर्तमान गभर्नर चिरञ्जीवी नेपालले सिफारिसमा नियुक्त भएका डेपुटी गभर्नरमध्ये श्रेष्ठ कांग्रेस र सिवाकोटी एमालेको कोटाबाट परेका थिए । अहिले पनि कांग्रेस र नेकपा कोटाबाट नै नियुक्ति गरिने सम्भावना रहेको  छ ।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि प्रधानमन्त्री पद धरापमा परेकाले प्रधानमन्त्री ओलीले कांग्रेसलाई रिझाउन एक जना कांग्रेसकै सिफारिसमा डेपुटी गभर्नर नियुक्तिको तयारी गरेको स्रोतले जनाएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार अहिले राष्ट्र बैंकका ८ जना कार्यकारी निर्देशक डेपुटी गभर्नर बन्न दाैडधुपमा लागेका छन् । राष्ट्र बैंकका अधिकारीकाअनुसार डेपुटी गभर्नरका प्रमुख दावेदारमध्ये अर्थ मन्त्रालयका सल्लाहारका रूपमा काजमा ल्याइएका प्रकाशकुमार श्रेष्ठ हुन् ।

यसअघि उनी वर्तमान सरकारकै पालामा लुम्बिनी  प्रदेश योजना आयोगका उपाध्यक्ष समेत भएका थिए । राष्ट्र बैंकमा कार्यकारी निर्देशक भएपछि अर्थमन्त्री विष्णु पौडलले आर्थिक सल्लाहकारका रूपमा अर्थमा भित्र्याएका हुन् ।

त्यस्तै कार्यकारी निर्देशकहरू भुवन कँडेल, गुणाकर भट्ट, बमबहादुर मिश्र, सुमन अधिकारी, देवकुमार ढकाल, पिताम्बर भण्डारी र निलम ढुंगाना पनि  डेपुटी गभर्नरको दौडमा छन् ।

Featured