देश राजनीति

ठूला दलकै कारण मुलुक दुर्गतिको बाटोमा : राजेन्द्र महतो

जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले ठूला राजनीतिक दलकै कारण मुलुक दुर्गतिको बाटोमा गएको आरोप लगाएका छन् । सोमबार कञ्चनपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूला भनाउँदा पार्टीहरुले मुलुकको समृद्धि र जनताको अधिकार समाप्त पारेको बताए ।

‘कहिले कम्युनिस्ट, कहिले कांग्रेसका नाममा जनताबाट मत पाएर पटक–पटक सरकार बनाए’, महतोले भने, ‘तर देश बनाएनन् उल्टै मुलुकलाई दुर्गतिमा धकेले ।’

एउटा संविधान बनाएर अमेरिका संसारकै शक्तिशाली मुलुक बनेपनि सात वटा संविधान बनाएको नेपाल मुलुक संसारकै गरिब राष्ट्रमा पर्ने गरेको उनले बताए ।

सात वटा संविधान बने पनि जनताले पहिचान, समृद्धि र सुशासन नपाएको उनको भनाइ थियो । थारुले अधिकार र पहिचान माग्दा षड्यन्त्रपूर्वक राज्यले टीकापुर घटना घटाएको महतोको आरोप छ ।

‘दलित, थारु, मुस्लिम, जनजाति, मधेसीले अधिकार र पहिचान माग्नु के अपराध हो ?’, प्रश्न गर्दै उनले भने, ‘अधिकार माग्दा अपराध हो भने १७ हजार मान्छे मार्ने, मराउने आन्दोलनका नेता प्रचण्ड जेल जानु पर्दैैन, खोई प्रचण्ड जेल गएको, रेशम चौधरीमात्रै किन जेल जानु पर्ने ? कानुन रेशम चौधरीलाई मात्रै लाग्ने हो र ?’ सबैका लागि कानुन बराबर भएको भए प्रचण्डले १७ हजार वर्ष जेल सजाय भोग्नु पर्ने महतोले बताए ।

Featured